• ११ मंसिर २०८१, मङ्गलबार

लोकसभा चुनाव परिणाम : आधाभन्दा बढी सिटमा एनडिए अगाडि

blog

नयाँ दिल्ली, जेठ २२ गते । भारतमा लोकसभा निर्वाचनको मतगणना भइरहेको छ। आयोगको पछिल्लो अपडेटअनुसार पाँच सय ४२ सिटका लागि भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) दुई सय ३६ सिटमा अग्रता हासिल गरेको छ । भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) दुई सय ९९ सिटमा अगाडि रहेको निर्वाचन आयोगले जानकारी गराएको छ ।

त्यसैगरी एनडिएको विपक्षी भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) ले दुई सय २६ सिटमा अग्रता हासिल गरिरहेको छ र अन्य १८ सिटमा अगाडि रहेका छन् ।

काङ्ग्रेस ९२ सिटमा, समाजवादी पार्टी ३४  सिटमा, द्रविड मुन्नेत्र कड़गम (डिएमके) २१ सिटमा, तृणमूल काङ्ग्रेस ३० सिटमा, शिवसेना (उद्धव ठाकरे) १० सिटमा, एनसीपी (सपा) आठ सिटमा, माकपा पाँच सिटमा र आम आदमी पार्टी तीन सिटमा अगाडि छन् । राहुल गान्धी र प्रधानमन्त्री नरेन्द्र मोदी दुवै आफ्नो निर्वाचन क्षेत्र क्रमशः राय–बरेली र बनारसमा अगाडि छन् । राहुल गान्धी वायनाडमा पनि अग्रतामा रहेका छन् ।

उत्तर प्रदेशमा भाजपा ३५ सिटमा अगाडि छ । यसको साझेदार पार्टी राष्ट्रिय लोक दल (आरएलडी) दुई सिटमा अगाडि छ भने समाजवादी पार्टी ३४  सिटमा अगाडि रहेको छ।

छ हप्ताको अवधिमा सात चरणमा सम्पन्न लोकसभा निर्वाचनमा करिब ६४ करोड २० लाख जनताले मतदान गरेका थिए । आन्ध्र प्रदेशको १ सय ७५  विधान सभा निर्वाचन क्षेत्र र ओडिसाका एक सय ४७ विधान सभा निर्वाचन क्षेत्रहरूमा पनि मतगणना सुरु भइसकेको छ । रासस/एएनआई