• १२ मंसिर २०८१, बुधबार

सीपसँगै आत्मनिर्भर बन्दै भार्सेका महिला

blog

सीप सिक्दै २६ वर्षीय सुनिता परियार । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे 

तम्घास, जेठ २२ गते । जिल्लाको सत्यवती गाउँपालिका-७ भार्सेमा सञ्चालन भएको १६० घण्टे अल्लो प्रोसेसिङ तालिम लिँदै गरेकी ५९ वर्षीय इन्द्रकला काउछाले आत्मनिर्भर बन्ने सीप लिन पाएकोमा खुसी व्यक्त गर्नुभयो । 

पहिले सानोसानो रकमका लागि पनि श्रीमानको मुख ताक्न पर्ने अवस्थाको अव अन्त्य भएको र आफैँ स्वरोजगार बन्दै गएको उहाँको भनाइ छ । पैसा भन्दा पनि सीप महत्त्वपूर्ण भएकाले सीप नै जीवनभरको पैसा भएको उहाँले बताउनुभयो । सिकेको सीपलाई आफूले जहाँभएपनि प्रयोग गर्न सकिने भएकाले दीर्घकालीन सम्पत्ति घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले दिएको उहाँको भनाइ छ ।

यस्तै, सोही स्थानकी २२ वर्षीय तारा रानाले उच्च माध्यमिक शिक्षा सकेर खाली बस्न नपरेको र सीप सिक्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले सिकेको सीपलाई व्यवहारमा लागु गर्ने र आत्मनिर्भर बन्नेमा आफू ढुक्क रहेको बताउनुभयो । समयमै सीप सिक्ने र व्यवहारमा लागु गरे रोजगारीकै लागी युवा युवती विदेश धाउन नपर्ने र देशमा सम्भावना भएकाले यसको सदुपयोग गर्न हामी सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सोही स्थानकी २६ वर्षीय सुनिता परियारले तालिमकै कारण सीपसँगै आफू ढुक्कसँग बोल्न सक्ने र आफ्ना कुराहरू राख्न सक्ने भएको बताउनुभयो । उहाँले ज्ञान जति सिकेपनि भरिपूर्ण नहुने भन्दै यसको निरन्तरता नै ठुलो हुने उहाँको भनाइ छ ।

अहिले आफूहरूले अल्लोको काँचो कपडा मात्रै निमार्ण गर्ने भएकाले यसबाट जुता, चप्पल, कोट झोला पनि बनाउने गरी सीप सिक्न आवश्यक रहेको उहाँको भनाइ छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले आत्मनिर्भर बनाउन र आय आर्जनसँग जोड्नका लागि सीप प्रदान गर्दै आएको छ ।

सीप सिकेर देशमै साना तथा मझौला उद्योगहरू खोल्न सक्ने बनाउने र आय आर्जनसँग जोडनका लागि आफूहरूले सीप र उपकरणहरू प्रदान गर्दै आएको कार्यालयका प्रमुख सुरेन्द्र भण्डारीले बताउनुभयो । जसका लागि अल्लोका कपडा, डल कुसन, हाउसवायरिङ, बासबाट बन्ने सजावटका सामानहरू, अचार बनाउने तालिम, हेयर कटिङ, ब्युटिपार्लर लगायतका तालिम र उपकरणहरू प्रदान गर्दै आएको छ ।

जिल्ला र जिल्ला बाहिरका प्रशिक्षकहरू बोलाई उद्यमीहरूको माग अनुसार र स्थानीय तहको समन्वयमा सिपसँगै प्रविधि हस्तान्तरण गर्ने कार्यक्रम अनुसार कार्यक्रम गर्दै आएको भण्डारीले बताउनुभयो ।