• २ साउन २०८१, बुधबार

सडक दुर्घटना : सबैभन्दा बढी उपत्यका र मधेश प्रदेशमा

blog

काठमाडौं, जेठ २१ गते । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ उपत्यका र मधेश प्रदेशमा सबैभन्दा बढी सडक दुर्घटना भएको छ । आर्थिक वर्ष २०७८-७९ मा देशभर भएको जम्मा सवारी दुर्घटना सङ्ख्या २४ हजार ५३७ छ । यसमध्ये काठमाडौँ उपत्यकामा १० हजार ७३३ र मधेश प्रदेशमा ५ हजार ७११ सवारी दुर्घटना भएको छ ।  

सो वर्ष कोशीमा ३ हजार ८२०, बागमतीमा १ हजार ७९८, गण्डकीमा ४०८, लुम्बिनीमा १ हजार १६४, कर्णालीमा ४०२ र सुदूरपश्चिम प्रदेशमा ५०१ वटा सवारी दुर्घटना भएको प्रहरीको तथ्याङ्क छ ।

प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले सडक दुर्घटनाको विभिन्न कारणमध्ये रोड इन्जिनियरिङ पनि एक प्रमुख कारण रहेको बताउनुभयो । कार्कीले भन्नुभयो, “सवारी दुर्घटना हुने विभिन्न कारणहरूमध्ये रोड इन्जिनियरिङ पनि एक प्रमुख कारण हो । सडकको घुम्ती, खाल्डाखुल्डी व्यवस्थापन गर्नपर्‍यो । हम्पीडम्पी सडक हुन भएन । यस्तो सडकमा गाडी उफ्रने हुँदा दुर्घटना हुन सक्छ, गाडी बाङ्गिन्छ, खाल्डोमा पर्छ । घुम्तीमा गाडी ठोकिने गर्छ, यसले पनि दुर्घटना हुन्छ ।”

प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले सडक दुर्घटनाको विभिन्न कारणमध्ये रोड इन्जिनियरिङ पनि एक प्रमुख कारण रहेको बताउनुभयो ।

आर्थिक वर्ष २०७९-८० मा देशभर भएको जम्मा सडक दुर्घटनाको सङ्ख्या २३ हजार ५९७ छ । यसमध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकामा १० हजार ६७५ र मधेश प्रदेशमा ५ हजार ९७८ सवारी दुर्घटना भएको छ ।

सो आर्थिक वर्षमा कोशीमा ३ हजार ५१०, बागमतीमा १ हजार ३६१, गण्डकीमा ३७४, लुम्बिनीमा ८९२, कर्णालीमा ५४५ र सुदूरपश्चिममा २५२ सवारी दुर्घटना भएको प्रहरीको तथ्याङ्क छ । प्रवक्ता कार्कीले चालकको लापरबाहीका कारण पनि कयौँ सवारी दुर्घटना हुने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अर्को सवारी चालकको ज्ञान र अनुशासन हो । सवारी ठिक ढङ्गले चलाएन भने दुर्घटना निम्तिन सक्छ । लेन अनुशासनमा बसेन भने, मादक पदार्थ, लागू पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना हुने सम्भावना रहन्छ । यसलाई चालकको लापरबाही वा अज्ञानता भन्न सकिन्छ, त्यसरी नि थुप्रै दुर्घटना भएका छन् ।”

यसैगरी, खराब मौसमका कारण सवारी दुर्घटना हुने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सडकमा हुस्सु लागेको बेलामा अगाडि बाटो, लेन राम्ररी देखिन्न । धेरै वर्षा भएपछि चालकलाई डिस्टर्व गर्न सक्छ । धेरै धुलो उड्ने बाटोमा मोटरसाइकल चालकहरूलाई अप्ठ्यारो हुन्छ । सडकमा बिस्कुन सुकाइदिने, गाईबस्तु छोड्ने, भौतिक संरचनाहरू बलियो नहुँदा पुल भत्किने, सडकको दायाँबायाँ राखिएका वार्निङ चिन्हहरू भएनन् भने पनि यसले सडक दुर्घटना निम्त्याउँछ ।”

यस्तै आर्थिक वर्ष २०८० -८१ को वैशाख मसान्तसम्म देशभर भएको सवारी दुर्घटनाको सङ्ख्या २१ हजार २९८ छ । यसमध्ये पनि सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ६ हजार ८३१ र मधेश प्रदेशमा ६ हजार २४९ दुर्घटना भएको छ । 

लेन अनुशासनमा बसेन भने, मादक पदार्थ, लागू पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना हुने सम्भावना रहन्छ ।

यस आर्थिक वर्षमा कोशीमा ३ हजार ९२४, बागमतीमा २ हजार ४१, गण्डकीमा २१५, लुम्बिनीमा ५६४, कर्णालीमा १ हजार २४५ र सुदूरपश्चिम प्रदेशमा २२९ सवारी दुर्घटनाको तथ्याङ्क छ ।

कम क्षमताको सडकमा बढी भारको गाडी 

प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहका अनुसार समितिले विभिन्न सडक खण्डको निरन्तर अवलोकन गर्दैआएको छ । उहाँले अवलोकन तथा ध्यानाकर्षणको काम बारम्बार हुने भए पनि सम्बन्धित पक्ष गम्भीर नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “दुई - चार ठाउँमा हामी स्वयम् गएर नै अवलोकन गरिरहेका छौँ । हामीले घच्घचाउने ठाउँमा पुरै घच्घचाइसकेका छौँ । काम गर्न नसकेको हो कि के कुरा हो, हामीले पटक–पटक मन्त्री, सचिवलाई जानकारी गराइसकेका छौँ ।” उहाँले नौबिसे–नागढुङ्गा सडकखण्ड, फलाइ ओभर ब्रिजमा अवलोकन गर्न गएको प्रसङ्ग जोड्नुभयो ।

सिंहले सडकको व्यवस्थापनका लागि नेपाल सरकार र निजी कन्सल्टेन्सीसँग पनि समितिले छलफल गर्दै आएको बताउनुभयो ।उहाँले भन्नुभयो, “हामी पूर्वाधार समितिका उपसमितिहरूले विभिन्न ठाउँमा अवलोकन गर्‍यौँ । वर्षाभन्दा पहिला नै नारायणगढ–बुटवलको बाटो क्लियर गर्न हामीले ठाडो आदेश दिइसकेका छौँ । कन्ट्रयाक्टर, नेपाल सरकार र निजी लगायतका कन्सल्टेन्सीसँग पनि हामीले कुरा गर्दाखेरी हामी गर्छौँ चाहिँ भन्छन् तर, कामले त्यति गति लिन सकेको छैन ।” यस विषयमा सम्बन्धित मन्त्रालयकै मुख्य हात हुने भनाइ उहाँले राख्नुभयो ।

कम गुणस्तरको सडक निर्माणका कारण पनि छोटो समयमा नै पुनर्निर्माण गर्नुपर्ने अवस्था आएको हो कि भन्ने जिज्ञासामा उहाँले सडकको क्षमताभन्दा बढी भारका गाडीहरू आवत–जावत गर्ने हुँदा यस्तो समस्या आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “२२ टन वेट थेग्ने बाटोमा अहिले ४० - ४५ टनसम्मको गाडी पनि हिँडेको छ । यो त गृह प्रशासनले रोक्नुपर्छ । अब २० टन क्षमता भएको बाटोमा ४५ - ५० टनसम्म पनि हिँडेको हुनाले छिटो बाटोहरू ड्यामेज हुने गरेको छ । त्यस कारणले वेटमा नियन्त्रण गर्नुपर्ने हुन्छ ।”

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।