• १३ मंसिर २०८१, बिहिबार

अन्नपूर्णले उत्प्रेरणा र मार्गदर्शन गर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

blog

कार्यक्रममा सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ ।

फडिन्द्र अधिकारी

लेखनाथ, जेठ २१ गते । अन्नपूर्ण हिमालको काखमा पर्ने पर्यटन राजधानी पोखरामा सोमबार अन्नपूर्ण दिवस मनाइएको छ । आरोहण गर्न जोखिमपूर्ण भएकाले ‘किलर माउन्टेन’ समेत भनिने अन्नपूर्ण प्रथमको पहिलो आरोहण भएको ७४ औँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाइएको हो ।

नेपाल सरकार परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयले आयोजना गरेको समारोहमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अन्नपूर्णमा पहिलो पाइला टेक्ने मौरिस हर्जाेगको सालिक अनावरण गर्नुभयो । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले बनाएको सालिक अब अन्नपूर्ण आधार शिविरमा राख्ने तयारी गरिएको छ । 

कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले आरोहण भएको आठ हजार मिटरभन्दा अग्लो पहिलो हिमाल अन्नपूर्ण प्रथमले नेपालको पर्यटन र जीवनमै विशेष अर्थ राख्ने उल्लेख गर्नुभयो । “अन्नपूर्णले हामीलाई मार्गदर्शन गर्छ, ऊर्जा पनि भर्छ” उहाँले भन्नुभयो, “अन्नपूर्ण आरोहण मानिसको आत्मविश्वास र असीमित सम्भावनाको विजय थियो । यो नेपालको पर्यटनको कोसेढुङ्गा हो । 


उपप्रधानमन्त्री श्रेष्ठले अन्नपूर्णलाई टुक्र्याएर अर्थसमेत लगाउनुभयो । “अन्न भनेको अनाज भइहाल्यो । पूर्ण भनेको भरिभराउ हो । अन्नपूर्ण आरोहणले अनाज प्रशस्त होस् अर्थात् सम्भावनाहरू खोजिउन् भन्ने सन्देश दिन्छ ।” उहाँले पर्यटन राजधानी पोखरासँगै नेपालको पर्यटन क्षेत्र कोभिडपूर्वको अवस्थामा पुगेको दाबी गर्दै सरकारले नयाँ गन्तव्य र पदमार्गको खोजी, पूर्वाधार निर्माण र प्रचार प्रसारमा ध्यान दिने उल्लेख गर्नुभयो । 

समारोहमा उहाँले अन्नपूर्ण आरोहीहरू पूर्णिमा श्रेष्ठ, दावा योङजम शेर्पा र लाक्पा डेन्डी शेर्पालाई सम्मानसमेत गर्नुभयो । समारोहअघि वसुन्धरा पार्कबाट बाराहीघाटसम्म झाँकी र्‍याली निकालिएको थियो । समारोहपछि पोखरा आउनुभएका विभिन्न देशका राजदूत, सार्क महासचिव लगायतले फेवातालमा ढुङ्गा सेयर गर्नुभएको थियो । ढुङ्गा सेयरपछि केबलकारबाट सराङकोट पुगेको टोली कास्कीकोट, नौडाँडा, हेमजा हुँदै पोखरा फर्किएको छ ।