• १३ मंसिर २०८१, बिहिबार

तनहुँमा छुवाछूतविरुद्ध प्रदर्शन

blog

भेदभाव, छुवाछूतविरुद्ध गरिएको प्रदर्शनमा सहभागीहरु । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, जेठ २१ गते । जातीय भेदभाव तथा छुवाछूतको विरुद्धमा तनहुँमा बृहत् प्रदर्शन गरिएको छ । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा सोमबार सदरमुकाम दमौलीमा प्रदर्शन गरिएको हो ।

सबै खाले विभेदको अन्त्य गरौं, समावेशी अवसरको गलत भ्रम अन्त्य गरौं, जातीय भेदभाव सँधैको लागि अन्त्य गरौं लगायत लेखेको प्लेकार्ड बोकेर छुवाछूत र भेदभावविरुद्धका नाराहरु लगाएर प्रदर्शन गरिएको छ । उनीहरुले दमौली बजार परिक्रमा गरेका थिए । युवाहरुको उल्लेख्य सहभागिता रहेको उक्त प्रदर्शनमा गैर दलितहरुको समेत सहभागिता थियो । 

संविधान सभा सदस्य रामचन्द्र पोख्रेलले संविधानमा छुवाछूत र भेदभावलाई सामाजिक अपराध भनिए पनि समाजमा हट्न नसकेकोले जनचेतना जगाउन सहभागी भएको बताउनुभयो । जिल्लाका दशै पालिकाकाबाट सहभागी छन् । छुवाछुत, भेदभाव मुक्त देश भनेर १७ वर्षअघि नै घोषणा गरिएको भए पनि समाजमा अझै हट्न नसकेकोले सोमबार दमौलीमा सचेतना सभाको आयोजनका गरिएको सयुक्त राजनीतिक दलित सङ्र्घ समितिका संयोजक तथा गण्डकी प्रदेशका पूर्वमन्त्री डोबाटे विश्वकर्माले बताउनुभयो । सचेतना सभामा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारको प्रमुख आतिथ्यमा सभा गरिएको जानकारी उहाँले दिनुभयो । 

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा तनहुँका छ वटा पालिकाले आज सार्वजानिक बिदा दिएका छन् । व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका र आँबुखैरेनी गाउँपालिकाले बिदा दिएका हुन् । पालिका अन्तर्गतका सबै कार्यालय, सामुदायिक तथा निजी शैक्षिक सस्था, स्वास्थ्य संस्था–अत्यावश्यक बाहेक र वित्तीय संस्थाहरुमा स्थानीय बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख गरिएको छ । सबै समुदायले जातीय विभेद हटाउने र सामाजिक सद्भाव कायम गर्ने कार्यक्रमहरु सञ्चालन गरी सामाजिक एकता सन्देश दिन पालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । 

व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरे, आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा, म्याग्दे गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिसागर खनाल, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठद्धारा जारी सूचनामा बिदा उल्लेख गरिएको छ ।

संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले बिदा दिनुपर्ने माग राखेको थियो । तनहुँका दश स्थानीय सरकारमध्ये पाँच पालिकाले सार्वजनिक बिदा दिएका हुन् । सयुक्त दलित सङ्घर्ष समितिले तनहुँको सदरमुकाम दमौलीमा सोमबार सचेतना सभाको आयोजना गरेको छ । २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो । त्यसै दिनको सम्झनामा हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस मनाउने गरिन्छ ।