• २७ फागुन २०८१, मङ्गलबार

चरा संरक्षणमा बालबालिका

blog

वराहक्षेत्र समाचारदाता

वराहक्षेत्र, जेठ २१ गते  । सुनसरीको चतरास्थित जब्दीका स्थानीय बालबालिका हप्ताको एक दिन चरा अवलोकन गर्दै आएका छन् । उनीहरूले स्थानीय ठाउँमा पाइने चरादेखि पाहुना चराको अवलोकन गरी संरक्षणमा सहयोग पु-याउँदै आएका हुन् । 

हिमाली नेचर संस्थाले वराहक्षेत्र–२, जब्दीमा सिमसार तथा घाँसे मैदान अध्ययन केन्द्र स्थापना गरेर १० वर्षदेखि स्थानीय बालबालिकालाई चरा अवलोकन गराउँदै आएको छ । बालबालिकालाई चरासम्बन्धी ज्ञान दिन र संरक्षणमा सहयोग पु-याउन प्रत्येक शनिबार अवलोकन गराउँदै आएको हिमाली नेचरका संरक्षक वरिष्ठ चराविद् हेमसागर बरालले जानकारी दिनुभयो । 

कोशीटप्पु वन्यजन्तु आरक्षसँग सीमा जोडिएका गाउँका बालबालिकालाई चराबारे जानकारी दिन हिमाली नेचर संस्थाले साप्ताहिक रूपमा स्थानीयस्तरमा रहेका वन, जङ्गल, ताल र घाँसे मैदानमा लगेर अवलोकन गराउँदै आएको हिमाली नेचर संस्थाले जनाएको छ । 

प्रकृतिको गहनाका रूपमा रहेका चरा घट्दै गए प्राकृतिक सङ्कट हुने चराविद् डाक्टर बराल बताउनुहुन्छ । पहिला झुन्ड झुन्ड समूहमा देखिने आन्तरिक र बाह्य पाहुना चरा केही वर्षदेखि कम आउन थालेका छन् । चराको महìव बुझेर यसको संरक्षणमा वृद्धदेखि बालबालिकासम्म लाग्नुपर्ने बेला आएको छ । संरक्षणकर्मी र संरक्षणको अभियानमा लागेका सङ्घ, संस्थाले मात्रै प्रकृतिका गहनालाई संरक्षण गर्न सम्भव नहुने हुँदा जनस्तरबाटै चराको संरक्षणका लागि सचेतना जगाउन बालबालिकालाई हिमाली नेचरले चरा अवलोकन गराउँदै आएको हो । 

कोशीटप्पु वन्यजन्तु आरक्षणभन्दा बाहिर सुनसरीको वराहक्षेत्र नगरपालिका–९, ६, ७, २, ३ र ११ का ३० जना बालबालिकाले चरा अवलोकन गर्दै आएका छन् । हप्ताको छ दिन स्कुल पढाइ र घरको काममै व्यस्त हुने बालबालिका शनिबार भने चरा अवलोकनमा आउने गरेका छन् । उनीहरू स्थलगत रूपमा चराका बारेमा प्रत्यक्ष बुझ्न आउने गरेको १५ वर्ष का रितेश खत्रीले बताउनुभयो ।  

चरा अध्ययन केन्द्रले बालबालिकाको फुर्सदको समयलाई सदुपयोग गर्दै बिदाको दिन चरा अवलोकन गराउने काम सराहनीय भएको स्थानीय सगरमाथा युवा क्लबका युवराज भट्टराई (विदुर) भन्नुहुन्छ । भट्टराईका अनुसार बालबालिका खाली समय पाउँदा चराकै बारेमा अध्ययन, अनुसन्धान र खोज गर्न व्यस्त रहने भएकाले कुलतमा फस्ने डर कम हुन्छ । चरा अवलोकन गर्ने बालबालिकाले चरासम्बन्धी राम्रो ज्ञान हासिल गर्न सके यसैमा भविष्य खोज्न सक्छन् । उहाँले भन्नुभयो, “यसले चरा संरक्षणमा भूमिका खेल्नुका साथै बालबालिकालाई समाजमा उत्तरदायी र जिम्मेवार नागरिक बन्न सहयोग पुग्ने छ ।” 

चरा अवलोकन गर्न बालबालिकाले चासो राखेर आउने गरेको चरा संरक्षणकर्मी विमल तिम्सिना बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “चरा संरक्षण गर्न चराबारे जानकारी हुन आवश्यक हुन्छ । चराका बारेमा आफूले जानेको सिकेको कुरा बालबालिकालाई सिकाउँदै आएको छु । चरा अवलोकनमा आउने बालबालिकाले चराका बारेमा यथेष्ट जानकारी लिएपछि नेचर गाइड बनेर रोजगारीसमेत पाएका छन् ।”  

अध्ययन केन्द्रले प्रत्येक हप्ता फरक फरक स्थानमा लगेर घाँसे मैदानमा पाउने चरा अवलोकन गराउँदै आएको छ ।