• १२ साउन २०८१, शनिबार

‘बाह्रै महिना निःशुल्क औषधी उपलब्ध छ’

blog

सुनसरी जिल्लाका १२ स्थानीय तहमध्ये भारतको सीमासँग जोडिएको गाउँपालिका बर्जु गाउँपालिका हो । यहाँ छ वटा वडा र ३६ हजार २४९ जनसङ्ख्या रहेको छ । यो द्वापर युगको महाभारतको कथासँगको सन्दर्भ जोडिएको ऐतिहासिक स्थल तथा पर्यटकीय, धार्मिक महìव बोकेको बर्जु तालको नामबाट यस गाउँपालिकाको नाम राखिएको हो । दन्त्य कथा अनुसार पहाडबाट निस्केको एक दैता बाँध रहेको छ र त्यही नामको आधारमा एउटा गाउँ पनि दैता र एउटा पोखरी दैतापोखरी छ । समतल भूभागका रूपमा रहेको नेपालको सबैभन्दा ठुलो अर्थात् १६० बिघा क्षेत्रफलमा फैलिएको बर्जु ताल छ । २०७९ वैशाखमा भएको निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित हुनुभएका बर्जु गाउँपालिकाका अध्यक्ष जीवछकुमार रायसँग गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादवले गर्नुभएको कुराकानीको सम्पादित अंश :

यहाँले निर्वाचनका बेला गर्नुभएका वाचा दुई वर्षमा कति पूरा गर्नुभएको छ ? 

मैले निर्वाचनका बेला गरेका वाचामध्ये ५० प्रतिशत काम दुई वर्षमा पूरा गरेको छु । हामीले एक करोड रुपियाँभन्दा बढीका ठुला योजना सञ्चालन गरेका छौँ । प्रत्येक वडामा एक एक वटा ठुला योजनाका काम गरिएको छ । पहिलो दुई वर्षमा सङ्घीय तथा प्रदेश र स्थानीय तहका गरी २० किलोमिटर बढी सडकमा राम्रो काम भएको छ । गाउँपालिकाभरिका सबै मुख्य सडक तीन वर्षभित्रमा कालोपत्रे गर्ने गरी काम थालेको छु । भित्री सडकमा स्तरोन्नति गर्ने र ढलानको काम समेत गर्ने योजना बनाएको छु । यहाँका धार्मिक स्थल, मठमन्दिर, थानहरूको जीर्णोद्धार भएको छ, विभिन्न सडक फराकिलो पारिएको, केही उपभोक्ता समितिका काममा एक रूपता गरेको, स्टिमेट अनुसारको काम समयमा भएको र विकासमा जनसहभागिता बढाउने काम भएको छ । म आएपछि पालिका र वडामा सार्वजनिक सुनुवाइ हुँदै आएको छ ।  विगतमा सबै स्वास्थ्य संस्थामा फोहोर डिस्पोजलको समस्या थियो, हामीले त्यसमा सुधार गरेका छौँ । विद्यालयहरू तथा वडा कार्यालयमा घेरबार गरिएको छ । वडा कार्यालयहरूमा ई हाजिरको व्यवस्था गरिएको छ । 

बर्जु तालको विकासमा के गर्दै हुनुहन्छ ? 

बर्जु तालको विकासमा स्थानीय बजेटले केही पनि नहुने अवस्था छ । बजेट अर्बौंको चाहिने तर गाउँपालिकाको बजेट करोडमा मात्रै छ । त्यसैले हामीले सङ्घ र दातृ निकायको सहयोगमा झन्डै ११ अर्बको बजेट खर्चेर बर्जु तालमा काम हुने परियोजना अन्तर्गत पहिलो चरणमा साढे चार अर्बको काम सुरुवात हुने अवस्थामा छ । 

देखिने काममध्ये केही ? 

पर्यटन मन्त्रालयको सहयोग र गाउँपालिकाको साझेदारीमा बर्जु–३ को रामजानकी मन्दिरमा दुई बिघा क्षेत्रफलमा पोखरी निर्माण, विवाह मण्डप, पाँच सय जना अट्ने सभा हल, नाटक मञ्चन गर्ने स्थल, महाभारतको कथासँग जोडिएको कुरासहित पाण्डवको कालदेखिको प्रतीक निर्माण गरिएको छ । पर्यटन मन्त्रालयको तीन करोड र बर्जुको २५ लाख लगानीसहित सवा तीन करोडको काम भएको छ । प्रहरी र सशस्त्र प्रहरीको कार्यालयलाई मर्मतसम्भारदेखि घेरबारसम्ममा सहयोग गरेका छौँ । 

शिक्षाको विकासमा के कस्तो काम भएको छ ?

सामुदायिक विद्यालयको अनुगमन गर्न गाउँ शिक्षा समिति र वडामा वडा शिक्षा समितिलाई सव्रिmय बनाएका छौँ । विज्ञसहितको सहभागितामा प्रत्येक विद्यालयमा शैक्षिक गुणस्तरका बारेमा अनुगमन गरी पृष्ठपोषणसहित सुझाव दिएर काम गरेका छौँ । आठ वटा सरकारी विद्यालयलाई पूर्वाधार सम्पन्न गरेका छौँ । विद्यालयमा खानेपानी, शौचालय जस्ता आधारभूत आवश्यकता पूरा गरेका छौँ जसले गर्दा सरकारी विद्यालयप्रतिको आकर्षण बढेको छ । सामुदायिक विद्यालयमा दुई वर्षमा २० वटा कक्षाकोठा निर्माण सम्पन्न भएका र छ वटा निर्माण अन्तिम चरणमा छन् । राष्ट्रपति शैक्षिक सुधार कार्यव्रmमदेखि स्थानीय तहसमेतको लगानीमा भवन, कक्षाकोठा निर्माण भएको छ । सात विद्यालयमा घेरबार गरिएको छ । म आफैँ पूर्वशिक्षक भएकाले शिक्षामा बढी नै ध्यान दिएको छु । 

स्वास्थ्य सेवाको अवस्था कस्तो छ ?

म निर्वाचित भएर आएपछि सबै वडामा स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य एकाइलाई जनशक्तिसहित बाह्रै महिना निःशुुल्क औषधी उपलब्ध गराएको छु । निःशुल्क औषधी टेन्डरको माध्यमबाट खरिद गर्दा औषधी अभाव समस्या समाधान भई बाह्रै महिना निःशुुल्क औषधी उपलब्ध गराउन सकेका छौँ । विपन्नलाई औषधी उपचारमा सहयोग, एम्बुलेन्स सेवा र नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर शिविरहरूसमेत सञ्चालन गरेका छौँ । ओली सरकारको पालामा घोषणा भएको ‘एक स्थानीय तह एक अस्पताल’ को कार्यव्रmम हाम्रोमा सार्थक हुन नसकिरहेको अवस्थामा म आएपछि पहल थालेको छु ।  

गाउँपालिकाको आफ्नो फोहोरभन्दा मोरङ जिल्लाको विराटनगर महानगरपालिकाको फोहोर बर्जुको प्रमुख चुनौती देखिन्छ ? यसका लागि के गरिहनुभएको छ ? 

विराटनरको फोहोर र ढल व्यवस्थापन नहुँदा बाह्रै महिना दुर्गन्ध सहनु परेको कुरा सत्य हो । केशल्याखोलामा विराटनगर महानगरपालिकाले दैनिक हजारौँ टन कुहिने र नकुहिने सबै फोहोर फाल्ने गरेकाले बर्जुको विकास र मानव स्वास्थ्यको प्रमुख चुनौती फोहोर देखिएको छ । दुर्गन्धले दुई वटा वडाका बासिन्दालाई बस्न नै समस्या भएको र विद्यालयमा समेत हावाको माध्यमबाट फोहोर आउने भएकाले समस्या छ । त्यो फोहोरकै कारण खोलाको पानीले बर्सेनि तटबन्ध बिगार्ने गरेको छ तर समस्या समाधान भएको छैन । फोहोरमैलाको स्थायी र दिगो समाधानका लागि डम्पिङ साइट निर्माण गर्नुपर्नेमा छिमेकी जिल्ला र महानगरले ध्यान नदिँदा हामकहाँ ठुलो चुनौती छ । यसलाई सौहार्द वातावरणमा सुनिएन भने आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्छ । म त्यसका लागि पनि तयार छु । 

स्थानीय सरकारको कृषिमा लगानी के छ ? 

हामीले गाउँपालिका क्षेत्रमा भूउपयोग नीति कार्यान्वयनको प्रयास गरेका छौँ । कृषि क्षेत्र, औद्योगिक क्षेत्र, आवास क्षेत्रसहितको वर्गीकरण गरी काम गर्दै छौँ । कृषिमा बाह्रै महिना सिँचाइका लागि विद्युतीकरणसहित अनुदानमा कृषि मोटर वितरण गरेका छौँ । कृषि औजारमा ५० प्रतिशत अनुदान, उन्नत जातको धान, गहुँ र मकैको बिउमा अनुदानको व्यवस्था गरेका छौँ । विद्युत्मा भोल्टेज समस्याले कृषि मोटर चलाउन अप्ठ्यारो भएकाले विद्युत्मा पनि आधुनिकीकरण गर्नु पर्छ भन्ने मलाई लागेको छ ।  

बर्जु गाउँपालिकाबाट अरू स्थानीय तहले सिक्नुपर्ने केही छ ?

हामी विकासमा सुशासन र गुणस्तर कायम गर्दै बर्जुलाई भ्रष्टाचारमुक्त बनाउने अभियानमा छौँ । अरूको होइन आफ्नै योजना, नीति तथा कार्यक्रम बनाएर काम गर्नुपर्ने रहेछ भनेर हामीले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, विद्युत् र सडक सुविधाको पक्षमा काम गरिहेका छौँ ।