• १० मंसिर २०८१, सोमबार

अन्नपूर्ण आरोहणको ७४ वर्ष : आरोहण क्षेत्र नै ओझेलमा

blog

अन्नपूर्ण हिमाल : फाइल तस्बिर

ठाकुरप्रसाद आचार्य

म्याग्दी,जेठ २१ गते । आज जुन ३ अन्नपूर्ण हिमालमा पहिलो मानव पाइला टेकेको दिन । अन्नपूर्णको सफल आरोहणसँगै यसको संसारभर चर्चा भएको थियो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणको आज ७४ वर्ष पुरा भएको छ । मानव पाइला परेको जेठो हिमाल र पदमार्गमा आज औपचारिक कार्यक्रमहरुको आयोजना गरिएको छैन् । 

आजकै दिन फ्रान्सका नागरिक मौरिस हेर्जोगले म्याग्दीस्थित अन्नपूर्णको उत्तरी आधार शिविरबाट अन्नपूर्णको सफल आरोहण गर्नुभएको थियो । आठ हजार माथिका हिमालको पहिलो सफल आरोहणको कीर्तिमान राखेकोले अन्नपूर्ण प्रथमलाई ‘जेठो हिमाल’ पनि भनिन्छ । तर हिमाल आरोहणको ७४ वर्ष पुरा हुँदा पनि मौरिस हर्जोगले हिमाल आरोहणका लागि प्रयोग गरेको पदमार्ग र आधार शिविर भने ओझेलमा परेको छ । आजकै दिन पोखरामा विभिन्न कार्यक्रमहरु भइरहँदा मौरिस हर्जोगले आरोहण गरेको पदमार्ग र आधारशिविर भने सुनसान छ । 

 हर्जोगले अन्नपूर्ण हिमालको सफल आरोहण गरेपछि २९ मे १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । आरोहणको ७४ वर्ष इतिहास भएको अन्नपूर्ण आज ओझेलमा छ । पर्वतारोहणका क्षेत्रमा राम्रो सम्भावना भएर पनि ओझेलमा परेको मौरिस हर्जोग ट्रेक व्यवस्थापन समितिका अध्यक्ष तथा नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङले बताउनुभयो । 

 ‘‘आजकै दिनबाट हिमाल आरोहणमा नयाँ युगको सुरुवात भएको थियो,’’गुरुङले भन्नुभयो, ‘‘नेपाललाई विश्वभर चिनाएको अन्नपूर्णलाई आज ओझेलमा पारिएको छ । अन्नपूर्ण गुमनाम छ । प्रचारप्रसार,प्रवद्र्धनमुलक कार्यक्रम र पर्यटन पूर्वाधार विकासमा ध्यान पुग्न सकेको छैन । सरकारी स्तरबाट हुने औपचारिक कार्यक्रमहरुले यस क्षेत्रमा प्राथमिकता पाउँदैनन् ।’’ अन्नपूर्ण दिवसका अवसरमा मौरिस हर्जोगको शालिक आधारशिविरमा राख्ने योजना बनाए पनि सफल हुननसकेको उहाँको भनाई छ । 

उहाँले भन्नुभयो, ‘‘आधार शिविरमा शालिक राख्ने तयारीका साथ आइतबार नारच्याङबाट लिएर हुमखोला सम्म पुगेका थियौं । नेपाल पर्यटन बोर्ड  गण्डकी प्रदेश कार्यालयले शालिक पोखरा ल्याउन भनेपछि बीचबाटै बाट फर्किएर पोखरा आएका छौं । पोखरामा आज मौरिस हर्जोगको शालिक माल्यापर्ण गर्ने कार्यक्रम छ ।’’ पर्यटन बोर्डले पर्यटन दिवस मनाउन ८० लाख रुपियाँ विनियोजन गरेपनि अन्नपूर्ण आरोहण क्षेत्रमा कुनै पनि कार्यक्रम नगरेर पोखरामा गर्नुले सकारात्मक सन्देश प्रवाह नगरेको उहाँको भनाई छ । 

अन्नपूर्ण हिमालको उत्तरी आधारशिविर हुँदै हिमाल आरोहण भएकाले यसै क्षेत्रमा अन्नपूर्ण दिवसका कार्यक्रमहरु आयोजना हुनुपर्ने उहाँको भनाई छ । उत्तरी आधारशिविरबाट मात्र अन्नपूर्णको हिमाल आरोहण भएकाले यस क्षेत्र नै अन्नपूर्णको वास्तविक आधारशिविर भएको उहाँको दावी छ । 

स्थानीय सरकार र समुदायस्तरबाट  अन्नपूर्ण क्षेत्रको पर्यटन विकासका लागि पछिल्ला एकदशक यता पदमार्ग निर्माण, प्रचारप्रसार र पर्यटन प्रवद्र्धनमुलक कार्यहरु गर्दै आएको गुरुङले बताउनुभयो । मौरीस हर्जोगकै नामबाट पदमार्गको नामाकरण गरेर विश्वभर थप प्रचारप्रसारमा जुटेको उहाँले बताउनुभयो । 

हर्गोजले इतिहास रचेको अन्नपूर्ण आधार शिविर र उहाँले प्रयोग गरेको पदमार्गलाई व्यवस्थित बनाउने र प्रचारप्रसार गर्ने काम गाउँपालिकाले गरेको छ  गाउँपालिका अध्यक्ष भरतकुमार पुनले भन्नुभयो “प्रकृतिको वरदान मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरलाई व्यवस्थित गरेर पर्यटक भित्र्याउन पहल थालेका छौँ ।” नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूत स्तरको २२ किलोमिटर पदमार्ग तयार भएको छ । दुई दिनको पैदल यात्रामा पुगिने अन्नपूर्ण आधार शिविर पर्यटकका लागि ‘भर्जिन’ गन्तव्य भएको अध्यक्ष पुनले बताउनुभयो । 

विश्वभर चिनाएको अन्नपूर्ण प्रथम हिमालको पर्यटकीय सम्भावना भएर पनि  सरकारी निकायले चासो नदेखाएको नारच्याङका वडा अध्यक्ष लोकबहादुर फगामीले गुनासो व्यक्त गर्नुभयो । अन्नपूर्णको विकास र प्रवद्र्धनका लागि प्रदेश र संघीय सरकारबाट नै ठोस कार्यक्रमहरु आउनुपर्ने उहाँको भनाई छ । 

ओझेलमा परेको अन्नपूर्णको पर्यटन सम्भावनाका बारेमा पछिल्लो समय गाउँपालिकाले चासो दिएको र प्रवद्र्धनमुलक कार्यक्रमहरु संचालन गरिरहेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष पुनले बताउनुभयो । उहाँले भन्नुभयो,‘‘स्थानीय स्तरबाट हामीले पर्यटन प्रवद्र्धनमुलक कार्यक्रमहरु अघि सारेका छौं । तर हाम्रो प्रयास मात्र अपुग हुन्छ । अन्नपूर्णमा अथाह पर्यटनको सम्भावना छ । प्रदेश र संघीय सरकारको साथ र सहयोग हामीलाई खाँचो छ ।’’ 

मौरिस हर्जोग पदमार्गको स्तरोन्नति, खोलामा झोलुङ्गे पुल निर्माण, आश्रयस्थलको क्षमता विस्तार, खानेपानी, शौचालय, सञ्चार, विद्युत सुविधा र सुरक्षाको व्यवस्थापनका लागि एकीकृत गुरुयोजना तयार पार्न अध्ययनको काम अन्तिम चरणमा पुगेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । यस वर्ष विनियोजन भएको ५० लाख बजेटबाट आश्रयस्थलको क्षमता विस्तार थालिएको र गुरुयोजनाअनुसार संघीय र  प्रदेश सरकारबाट स्रोत जुटाएर पूर्वाधार निर्माण गर्ने योजना रहेको उहाँको भनाई छ ।