बोमलाल गिरी
नवलपुर, जेठ २० गते। नवलपुर सदरमुकाम कावासोती वडा नं. १६ मा हाइटेन्सनको करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
बाँके नरेनापुर गाउँपालिका वडा नं. ४ घर भई रोयल कन्डक्सन कम्पनी प्रालि काठमाडौँमा कार्यरत २४ वर्षीय कुलदिप गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ।
गुरुङ हाल नवलपुरमा कार्यरत हुनुहुन्थ्यो। उहाँको कावासोती–१६ को चालिस किलो जङ्गलमा हाइटेन्सनको लाइन बनाउने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो।
करेन्ट लागेपछि उहाँलाई उपचारका लागि जिल्ला अस्पताल डण्डा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायव उपरीक्षक पौडेलले बताउनुभयो।