गुणबहादुर रोका
सुलीकेट, जेठ २० गते। गोरखाको ऐतिहासिक ठाउँ गोरखा सङ्ग्रहालयमा झण्डै ११ लाखले अवलोकन गरेका छन्।
गोरखा दरबार सङ्ग्रहालयको १७ औँ स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा १६ वर्षको अवधिमा ११ लाखले भ्रमण गरेको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख जयनारायण कार्कीले बताउनुभयो।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०६५ साल जेठ १९ गते गोरखा सङ्ग्रहालय सर्वसाधारणका लागि खुला गर्नुभएको थियो।
आन्तरिक र विदेशी पर्यटक पृथ्वीनारायण शाहको ऐतिहासिक एकीकरण तथा शाह वंशको इतिहास हेर्न दरबार पुग्ने गरेका छन्। विदेशी पर्यटक र सर्वसाधारणको भीड लाग्ने गरेको गोरखा दरबार हेरचाह अड्डा प्रमुख कार्कीले जानकारी दिनुभयो।
गोरखा सङ्ग्रहालय खुला गरेको १६ औँ वर्ष पार गरेको अवसरमा विद्यार्थीलाई ऐतिहासिक तथा पुरातात्त्विक स्थल गोरखादेखि लिगलिगकोट, अजिरकोट अवलोकन भ्रमण गराइएको थियो। भ्रमणमा आबद्ध विद्यार्थीलाई प्रतिवेदन लेखन कार्यको प्रतिस्पर्धा गराइएको थियो। प्रतिवेदन लेखन प्रतियोगितामा महालक्ष्मी माविका मृदृषा अर्याल प्रथम हुनुभयो। अर्याललाई प्रमुख जिल्ला अधिकारी भोला दाहालले पुरस्कार सहित सम्मान प्रदान गर्नुभएको छ।