• १२ साउन २०८१, शनिबार

म्याग्दीको भारबाङघाटमा पक्की मोटरेबल पुल निर्माण

blog

भारबाङघाटस्थित म्याग्दीखोलामा निर्माण गरिएको पक्की मोटरेबल पुल । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, जेठ २० गते । म्याग्दी जिल्लाको भारबाङघाटस्थित म्याग्दी खोलामा पक्की मोटरेबल पुल निर्माण भएको छ । पुल निर्माण भएसँगै धवलागिरि गाउँपालिकाका ५ मल्कबाङ र ६ मराङका स्थानीयहरूलाई गाउँपालिका केन्द्र मुना जान सहज भएको छ । 

पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक मानिएको बेनी–दरवाङ–बिम–ताकम–मुना–जलजला–ढोरपाटन सडक आयोजना अन्तर्गत भारबाङघाट स्थित म्याग्दीखोलामा ६ मिटर चौडाइ र ४० मिटर लामो सिङ्गल स्पान भएको प्रि स्ट्रेस प्रविधिको पक्की मोटरेबल पुल निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले जानकारी दिनुभयो । 

पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दीले २०७६ साउन ८ गते देव एण्ड सायर बिएन जेभीसँग ६ करोड ९६ लाख ४३ हजार तीनसय ५३ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । कोरोना महामारीका कारण पुल निर्माणमा ढिला भएपनि दोस्रो पटक थपिएको म्याद २०८१ असार मसान्तभित्र पुल निर्माण सम्पन्न भएको निर्माण व्यवसायीका प्रतिनिधि नारायण जिसीले जानकारी दिनुभयो । 

पुलको सबै संरचना निर्माण सम्पन्न भई पहुचमार्गको निर्माण थालिएको र जेठ महिनाभित्रमा यातायात सञ्चालन गर्न मिल्ने पूर्वाधार विकास कार्यालयका इन्जिनियर सन्देश बोगटीले जानकारी दिनुभयो । 

पुल निर्माण भएपछि धवलागिरि गाउँपालिकाका मराङ र मल्कबाङवासीहरुलाई घुमाउरो सडक प्रयोग गरेर गाउँपालिकाको केन्द्र मुना जानुपर्ने बाध्यता हटेको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेसम पुनमगरले बताउनुभयो  । यसअघि दुईवडाका स्थानीयहरू मालिका  गाउँपालिकाको केन्द्र दरबाङ बजार हुँदै मुना जानुपर्ने बाध्यता उहाँको भनाइ छ । 

साथै पुलले मालिका गाउँपालिका-७ का बिमवासीहरुलाई पनि ताकम, मुना लगायतका बस्तीहरूमा आवतजावत गर्न सहज हुनुका साथै दूरी छोटिएको उपाध्यक्ष पुनमगरले बताउनुभयो । म्याग्दीखोलामा पुल बनेसँगै पुल देखि ताकम गाउँ सम्मको सडक स्तरोन्नति गर्न गाउँपालिकाले आवश्यक पहल गर्ने उपाध्यक्ष पुनमगरको भनाइ छ ।