कपिल ज्ञवाली
सिद्धार्थनगर, जेठ २० गते । रुपन्देहीको एक सहकारीले विद्युतीय गाडीलाई लक्षित गरी फास्ट चार्जिङ स्टेशन सञ्चालन गर्ने भएको छ । बुटवलको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्थाले पूर्व पश्चिम राजमार्गबाट बुटवल अन्तर्राष्ट्रिय प्रदर्शनीस्थलको सय मिटर उत्तरतर्फ चार्जिङ स्टेशन सञ्चालनमा ल्याउन लागेको हो ।
एक करोड लगानीमा ३ वटा मेसिन जडान गरी जेठभित्र सञ्चालनमा ल्याउने तयारी गरेको पत्रकार सम्मेलन गरी संस्थाले जानकारी दिएको हो ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद अर्यालले तीन वटा मेसिनबाट एक पटकमा ६ वटा गाडी चार्ज गर्न सकिने बताउनुभयो । गाडी चार्ज गर्दा लाग्ने शुल्क अनलाइन माध्यमबाट भुक्तानी गर्न मिल्ने गरी सहकारीको कार्यालयमा सफ्टवेयर जडान भएको उहाँको भनाइ छ । भविष्यमा आवश्यकता अनुसार चार्जिङ मेसिन थप्न सकिने अध्यक्ष अर्यालले बताउनुभयो ।
चार्जिङ स्टेशनसँगै स्तरीय क्यान्टिन पनि सञ्चालन गर्नुपर्ने नियम अनुसार त्यसको पनि तयारी भइरहेको उहाँको भनाइ छ । चार्जिङ स्टेशन सञ्चालनपछि सहकारी सेयर सदस्य र विद्युतीय गाडी प्रयोगकर्ता सबैलाई सहज हुने संस्थाले विश्वास लिएको छ ।
पहिलो चरणमा गुल्मीका एक बस व्यवसायी समितिसँग ९ वटा गाडी नियमित चार्जिङ गर्ने सम्झौता भइसकेको र अरुसँग पनि गर्ने प्रक्रिया चलेको सहकारीका बहुउद्देश्यीय विभाग माधव गौतमले बताउनुभयो ।
बहुउद्देश्यीय सहकारीको मानयता अनुसार भविष्यमा कृषि, पशुपालनलगायतका काम पनि गर्ने लक्ष्य रहेको उपाध्यक्ष माया गौतमले जानकारी दिनुभयो । वि.सं २०५५ सालदेखि कारोबार सुरु गरेको सहकारीमा अहिले २०४८ सदस्य रहेका सहकारीका नरबहादुर रजालीले बताउनुभयो ।