• १३ मंसिर २०८१, बिहिबार

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ८८ जनालाई रोजगारी

blog

प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत निर्माण गरिएको पदमार्ग । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, जेठ २० गते । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत चालु आर्थिक वर्षमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ११ वटा योजनामा ८८ जनाले रोजगारी पाएका छन् । कार्यक्रममार्फत सञ्चालित योजनाबाट सडक मर्मत, पदमार्ग र गोरेटो बाटो निर्माण तथा मर्मतसम्भार गरेपछि स्थानीयवासीहरुको यात्रा सहज भएको छ । 

चालु आर्थिक वर्षमा उक्त योजनाहरु सञ्चालन गर्नका लागि गाउँपालिकालाई ५६ लाख ८५ हजार रुपियाँ प्राप्त भएको थियो । कार्यक्रम अन्तर्गत रोजगारीका लागि फाराम भरेका सात सय २९ जनामध्ये ८८ जनाले कम्तीमा ३९ दिनदेखि बढीमा एकसय दिनसम्मको रोजगारी पाएको गाउँपालिकाको रोजगार शाखाका संयोजक सुमित्रा गैरे पौडेलले जानकारी दिनुभयो । 

रोजगार कार्यक्रममार्फत दोबाटाे गोरेटो बाटो निर्माण तथा मर्मत सम्भार,पाती चढाउनेदेखि चिसो पानीसम्म गोरेटो तथा मर्मतसम्भार, बाँझो खर्कदेखि बाँझो ढुङ्गासम्म गोरेटो बाटो निर्माण, किम्ली बराह जाने बाटो मर्मत सम्भार, जरिवाङदेखि छेम्दीसम्म गोरेटो बाटो निर्माण र गुइठे पुलदेखि पटारसम्मको बाटो निर्माण तथा मर्मत योजना सम्पन्न भएको छ। 

यसैगरी घारखोला नेपानेदेखि पाउद्वार मोटरबाटो सोलिङ निर्माण, अन्नपूर्ण होटलदेखि फलेख घरको गेटसम्म पदमार्ग मर्मत, कोलालिबाङ गोरेटो बाटो निर्माण, थपना सडक तथा गोरेटो बाटो मर्मत सम्भार र छहरे आलडाँडा गोरेटोबाटो निर्माण तथा मर्मत सम्भार योजना सम्पन्न भएको रोजगार संयोजक पौडेलले जानकारी दिनुभयो । 

कार्यक्रम सञ्चालन भएका बस्तीहरुमा ढुङ्गाको सिँढी बनाउने, सडक सोलिङ, गोरेटो बाटो तथा पदमार्ग निर्माण गरिएपछि स्थानीयबासीलाई यात्रा गर्न सहज भएको रोजगार संयोजक पौडेलले जानकारी दिनुभयो । योजनामा संलग्नहरुलाई प्रतिदिन सातसय चार रुपियाँका दरले ज्याला भुक्तानी गरिएको उहाँले जानकारी दिनुभयो । रोजागरी पाउनेमा दलित, जनजाति, एकल महिला र विपन्न परिवारका व्यक्तिहरु संलग्न छन् ।