• २१ असार २०८१, शुक्रबार

बाँझो जमिन बन्यो हराभरा

blog

जलजला–७, भेडाबारीमा निर्माण गरिएको सिँचाइ योजना ।

ठाकुरप्रसाद आचार्य 

म्याग्दी (बेनी), जेठ २० गते । म्याग्दीको बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–७ मा लुङ्दीखोला भेडावारी–दुलेपानी सिँचाइ योजना सम्पन्न भएको छ । सिँचाइ योजना सम्पन्न भएसँगै भेडाबारी, दुलेपानी र लामाबगरका किसान खेतमा सिँचाइ गर्न पाएपछि खुसी भएका छन् । सिँचाइ नहुँदा बाँझै भएको जमिन अहिले हराभरा भएको छ । 

पाँच वर्षअघि मिलनचोक–सल्यान, घायखेत–धारापानी–ठोटनेरी सडक विस्तारका क्रममा पहिरोले सिँचाइ कुलोमा क्षति पु¥याएपछि यस क्षेत्रका किसानले आकासेपानीका भरमा खेती गर्दै आएका थिए । तरकारी पकेट क्षेत्रसमेत रहेको यहाँ सिँचाइको अभावमा तरकारी उत्पादनमा कमी आएको थियो । 

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको योजना जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्वतले ठेक्कामार्फत कार्यान्वयन गरेको हो । डेढ वर्षमा निर्माण सम्पन्न गर्न कार्यालयले सनफोर्स सोलार एन्ड कन्स्ट्रक्सन बालाजु काठमाडौँसँग २०८० साल भदौ १५ गते ९२ लाख ७७ हजार ९३५ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । उपभोक्ता समितिका अध्यक्ष चक्रपाणि पौडेलले ठेक्का सम्झौता भएको आठ महिनामै काम सम्पन्न भएर सिँचाइ योजनामा पानी सञ्चालन गरिएको जानकारी दिनुभयो । 

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका इन्जिनियर रामचन्द्र तिमिल्सिनाले भेडावारीदेखि एक हजार आठ सय मिटर टाढा रहेको ढल्केको टाकुरानजिक रहेको लुङ्दीखोलाबाट २२५ एमएमको एचडिपी पाइपलाइनमार्फत पानी ल्याइएको बताउनुभयो । उहाँका अनुसार मुहानमा इन्टेक, दुई स्थानमा क्रसिङ पुल र चार वटा वितरण चेम्बर निर्माण गरिएको छ । योजनामा कुलोको मुहानदेखि भेडावारीसम्म एक हजार आठ सय मिटर दुरीको पाइपलाइन जडान गरिएको उहाँले जानकारी दिनुभयो । कमजोर भूभागका कारण नहर बनाउन असम्भव भएकाले पाइपलाइन जडान गर्दा सिँचाइ योजना दिगो हुने आशा गरिएको इन्जिनियर तिमिल्सिनाले बताउनुभयो । योजनामा पानी सञ्चालन आए पनि केही काम बाँकी रहेको र बजेटको अभावमा निर्माण व्यवसायीलाई करिब ७० लाख रुपियाँ भुक्तानी गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो । 

विगत पाँच वर्षदेखि यस क्षेत्रमा सिँचाइ नहर पहिरोले क्षतविक्षत भएकाले सिँचाइ सुविधा नहुँदा कतिपय किसानको खेत बाँझै भएको र अहिले योजना सम्पन्न भएसँगै किसानले खेतबारीमा सिँचाइ गरेर खेती गर्न थालेको उपभोक्ता समितिका अध्यक्ष पौडेलले बताउनुभयो । निर्माण व्यवसायीको सक्रियता, उपभोक्ताको जागरुकता र कार्यालयका तर्फबाट नियमित रूपमा सुपरिवेक्षण भएकाले काम थालेको छ महिनामै पानी सञ्चालन गर्न सफल भएको अध्यक्ष पौडेलले बताउनुभयो । सिँचाइ योजनाबाट यस क्षेत्रका करिब एक सय घरधुरी कृषकको करिब आठ सयदेखि एक हजार रोपनी जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । 

सिँचाइ सुविधा नहुँदा तीन वर्षसम्म खेत बाँझै राख्नुभएका भेडावारीका स्थानीयवासी लक्ष्मीप्रसाद आचार्यले यसपालि भने असारमै खेत रोप्ने तयारी गर्नुभएको छ । योजना सम्पन्न भएपछि स्थानीय कृषकलाई धान रोपाइँ गर्न आकासे पानी कुर्नुपर्ने बाध्यता अन्त्य भएको आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “सिँचाइ नहुँदा मैले तीन वर्ष जति केही खेत बाँझै राखेँ, केहीमा कोदो खेती गरेँ । अहिले कुलोमा पानी आएकाले बाँझो रहेको खेतमा असारको दोस्रो हप्ताभित्र धान रोप्ने तयारी गरेको छु ।” जलजला–७ का वडाध्यक्ष टुङ्गनाथ आचार्यले बाह्रै महिना सिँचाइ सुविधा पुगेपछि यस क्षेत्रमा ताजा तरकारी उत्पादनमा समेत वृद्धि हुने अपेक्षा गरिएको बताउनुभयो ।