• १३ असोज २०८१, आइतबार

दुग्ध किसानको समस्या तीन महिनामा समाधान हुन्छ : कृषि मन्त्री शाह

blog

शनिबार झापाको मेचीनगरस्थित एनएमसी कृषि एग्रो फार्ममा राष्ट्रिय दुग्ध विकास बोर्डले आयोजना गरेको २४ औं विश्व दुध दिवसको कार्यक्रममा सहभागी अतिथि ।

लीलाराज खड्का 

बिर्तामोड, जेठ १९ गते। कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी शाहले देशका दुग्ध किसान र व्यावसायीको समस्या अबको तीन महिनाभित्र हल गर्ने बताउनुभएको छ। 

शनिबार झापाको मेचीनगरस्थित एनएमसी कृषि एग्रो फार्ममा राष्ट्रिय दुग्ध विकास बोर्डले आयोजना गरेको २४ औं विश्व दुध दिवसको कार्यक्रममा बोल्दै मन्त्री शाहले अबका तीन महिनाभित्र कृषकले पाउनुपर्ने दुधको सबै हिसाब गरेर प्रदान गर्ने बताउनुभयो। 

प्रायजसो काठमाडौंमा सीमित विश्व दूध दिवस राजधानी बाहिर समेत मेचीनगरमा आयोजना भएको भन्दै यसबाट देशभरका किसानलाई आत्मनिर्भर  बनाउनका लागि मद्दत मिल्ने बताउनुभयो। 

देशभरका कृषकलाई आत्मनिर्भर बनाउनका लागि कृषकलाई सहुलियत र अनुदानमा प्रविधि उपलब्ध गराउदै आएको मन्त्री शाहको भनाइ थियो। कृषकले समेत अनुदानलाई दुरुपयोग गरेको पाइएमा दण्ड जरिवानाको समेत व्यावस्था गरिएको मन्त्री शाहको भनाइ थियो। 

कार्यक्रममा कोशी प्रदेशकी मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी राज्यमन्त्री सिर्जना राईले सरकारको निरन्तता नहुँदा कतिपय अवस्थामा कृषकको समस्या समाधान हुन नपाएको बताउँदै अबका दिनमा यसले निकास पाउने बताउनुभयो। 


कार्यक्रममा कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव लेखनाथ दाहाल, दुग्ध विकास संस्थानका महाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारी, दुग्ध सहकारी संघका केन्द्रीय अध्यक्ष अम्बरबहादुर कुँवर, डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल लगायतले बोल्दै कृषकका समस्यामा सरकार र सम्बन्धित निकायको ध्यान जान जरुरी भएको बताउनुभयो। 

सोही अवसरमा उत्कृष्ट दुग्ध कृषक राजकुमार तामाङ, विज्ञान बस्नेत, उत्कृष्ट सहकारी पिठुवा दुग्ध उत्पादक सहकारी चितवन, कामधेनु सुनसरी, उत्कृष्ट पशुपालक फार्ममा सिंहदेवि पशुपालन तेह्रथुम, उत्कृष्ट दूध डेरीका रुपमा एनएमसी झापा, उत्कृट पत्रकारका रुपमा अभियान दैनिकका प्रशान्त खड्का लगायातलाई सम्मान गरिएको थियो।