• १३ असोज २०८१, आइतबार

इतिहास अभिलेखिकरण गर्न सांस्कृतिक महोत्सव

blog

फालेलुङ वाङ्मय प्रतिष्ठानले आयोजना गरेको साहित्य तथा सांस्कृतिक महोत्सवमा आ–आफ्ना समुदायमा आधारित भेषभुषामा सजिएका सहभागी। तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, जेठ १९ गते। फालेलुङ वाङ्मय प्रतिष्ठानद्वारा आयोजित दुई दिवसीय वहु धार्मिक र बहु भाषिक साहित्य, सांस्कृतिक महोत्सव सम्पन्न भएको छ।

पाँचथरको फालेलुङ गाउँपालिका ३ नाम्लुवा भञ्ज्याङमा आयोजित दुई दिवसीय महोत्सव शनिबार सम्पन्न भएको हो।

महोत्सवका अवसरमा गाउँपालिका भित्रका वि–भिन्न जातजाती र भाषा भाषीको संस्कृतिमा आधारित भेषभुषा, कला संस्कृतिसँगै लोक नृत्य सहित, साहित्य, संस्कृति, पर्यटन र इतिहासमा आधारित विविध कार्यक्रम सञ्चालन गरिएको प्रतिष्ठानका अध्यक्ष सुरेन शिशिर केरुङले बताउनुभयो।

महोत्सवमा फालेलुङ भित्र अल्पसंख्यक पर्ने दमाईसँगै बाहुन, गुरुङ, लिम्बू, राई र मगर समुदायमा आधारित सांस्कृतिक झाँकी र लोक नृत्य पस्तुत गरिएको थियो।

प्रतिष्ठानले यो वर्ष दुई दिवसीय कला साहित्य र सांस्कृतिक उत्सव आयोजना गरेको हो। उत्सवमा बालन, संगिनी, हुर्रा कौडा, सोरठी, च्याबु्रङ र साकेला नृत्यसँगै कविता र गजल वाचनका कार्यक्रम आयोजना गरिए।

कला, संस्कार र संस्कृतिको जगेर्ना सँगै विभिन्न विधाका प्राचिनतम इतिहासको खोज अनुसन्धान र अभिलेखिकरण गर्ने उद्देश्यले गत वर्षदेखि प्रतिष्ठानले निरन्तर यस्ता गतिविधि  गरिरहेको अध्यक्ष केरुङको भनाइ छ।


उत्सव उद्घाटन समारोहका अवसरमा प्रतिष्ठानले पूर्व मन्त्री कमलप्रसाद जवेगूलाई अभिनन्दन गरेको छ। यो सँगै संगीत तथा गायन क्षेत्रबाट लिलाप्रकश जवेगू, भाषा साहित्य लेखनतर्फ ज्ञानबहादुर राई, पत्रकारिता क्षेत्रबाट भिमकुमार बास्कोटा, सगरमाथा आरोहीद्वय किशोरकुमार जवेगूसँगै उदय केरुङ, शिक्षा क्षेत्रका अगुवा कर्ण आङबो र सन्तवीर खपाङ्गी महोत्सवका अवसरमा सम्मानित हुनुभएको छ।

फालेलुङ वाङ्मय प्रतिष्ठान फालेलुङ गाउँपालिकाले गत वर्ष गठन गरेको हो। प्रतिष्ठानले स्थानीय कला संस्कृतिको संरक्षण सम्वर्द्धनसँगै साहित्य र संस्कृतिको खोज अनुसन्धान र अभिलेखिकरण गर्ने जिम्मेवारी पाएको अध्यक्ष केरुङको भनाइ छ।

शुक्रबारदेखि सुरु भएको उत्सव शनिबार साँझ सम्पन भएको हो। महोत्सवमा हजारौं नागरिक सहभागी थिए।