• २४ पुस २०८१, बुधबार

दुध उत्पादक किसानलाई शीघ्र भुक्तानीको व्यवस्था गरिनेछ : मन्त्री साह

blog

कृषि, पशुपन्क्षी तथा सहकारी मन्त्री ज्वालाकुमारी साह । तस्बिर:रासस

झापा, जेठ १९ गते । कृषि, पशुपन्क्षी तथा सहकारी मन्त्री ज्वालाकुमारी साहले दुग्ध उत्पादक किसानलाई चाँडै भुक्तानीको व्यवस्था मिलाइने बताउनुभएको छ । विश्व दुध दिवसको उपलक्ष्यमा राष्ट्रिय दुग्ध विकास बोर्डद्वारा मेचीनगरमा आयोजित कार्यक्रममा उहाँले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान र निजी डेरीले किसानबाट खरिद गरेको दुधको महिनौँदेखि भुक्तानी नदिइरहेको भन्ने गुनासो आएकाले त्यो यथाशीघ्र समाधान गर्न सघाउने बताउनुभयो । 

“दुग्ध उत्पादक किसानहरूले चाँडोभन्दा चाँडो भुक्तानी पाउनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ,” उहाँले भन्नुभयो, “मैले थुप्रै व्यावसायिक किसानको गाईगोठ र डेरी उद्योगहरू अवलोकन गरेको छु । किसानहरूले दुधको भुक्तानी नपाएको गुनासो सुनाउनु भएको छ । जसरी भए पनि भुक्तानी हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।” मुलुकमा दुधको उत्पादन बढेको जनाउँदै उहाँले यसलाई निर्यात गर्न आवश्यक पहल जारी रहेको बताउनुभयो । 

दुग्ध विकास संस्थानको भण्डारमा एक अर्ब ७५ करोडभन्दा बढी मूल्यको दुग्धजन्य उत्पादन विक्री नभएर थन्किरहेको उहाँले जानकारी दिनुभयो । मुलुकलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्नका लागि दूधमा आत्मनिर्भर भएर मात्र नपुग्ने बताउँदै उहाँले यसको विदेश निर्यात अपरिहार्य भइसकेको औँल्याउनुभयो । दूधबाट बनेका बस्तुहरू निर्यातका लागि निर्यातको सहज व्यवस्था हुन सके किसानले बेचेको दुधको भुक्तानी गर्न कुनै समस्या नहुने उहाँले बताउनुभयो ।

कोशी प्रदेश सरकारकी राज्यमन्त्री सिर्जना राईले दुग्ध पदार्थमा आधारित उद्योग सञ्चालन र वस्तु प्रवर्धनमा प्रदेश सरकारले उल्लेखनीय अनुदान दिँदै आएको बताउनुभयो । किसानहरूलाई दुध उत्पादनका आधारमा र व्यावसायिक कृषकहरूलाई गोठ निर्माण र आहार उत्पादनमा अनुदान दिने गरिएको उहाँले जानकारी दिनुभयो । दुग्ध विकास संस्थानका महाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले चरणबद्धरुपमा किसानको दुधको भुक्तानी गर्ने व्यवस्था मिलाइएको जनाउँदै दुई दिनभित्र नयाँ भुक्तानी रकम आइपुग्ने जानकारी दिनुभयो 

उहाँले दुध उत्पादक किसान र व्यवसायीका समस्या समाधानका लागि संस्थानले पहल गर्ने बताउनुभयो । उहाँले संस्थान र निजी क्षेत्रका गोदामहरू दूधजन्य उत्पादनको भण्डारणले भरिएको हुँदा यसको विक्री वितरणको चाँडो व्यवस्था नभए आउँदो आर्थिक वर्षको सुरुदेखि नै नयाँ उत्पादन राख्ने ठाउँ नहुने बताउनुभयो । कोशी प्रदेश डेरी उद्योग समितिका संयोजक रामचन्द्र उप्रेतीले एक दशकमा कोशी प्रदेशमा ११ वटा ठुला डेरी उद्योग सञ्चालनमा आएका उल्लेख गर्दै प्रदेश सरकारको २० करोड अनुदानमा निजी क्षेत्रका उद्योगीले ३० करोडको लागतमा पाउडर उद्योग स्थापना गरेको बताउनुभयो ।

मेचीनगर–१४ दुहागढीस्थित एनएमसी एग्रो फार्ममा आयोजित उक्त कार्यक्रममा उत्कृष्ट डेरी उद्योगका रूपमा एनएमसी डेरी उद्योग, उत्कृष्ट सहकारीका रूपमा चितवनको पिठुवा दुग्ध उत्पादक सहकारी र सुनसरीको कामधेनु दुग्ध विकास सहकारी संस्था, उत्कृष्ट कृषकका रूपमा झापाका राजकुमार तामाङ र मोरङका विज्ञान बस्नेतलाई सम्मान गरिएको थियो । कार्यक्रममा आर्थिक अभियान पत्रिकाका समाचारदाता प्रशान्त खड्कालाई उत्कृष्ट सञ्चारकर्मीका रूपमा सम्मान गरिएको थियो । रासस