• १३ असोज २०८१, आइतबार

राज्यबाट उपेक्षामा परेको रारा ताल

blog

मुगुको प्रसिद्ध पर्यटकीय गन्तव्य रारा ताल । तस्विरः हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी

मुगु, जेठ १९ गते । सरकारले जारी गरेको आर्थिक वर्ष २०८१–८२ को बजेटले रारा लाई उपेक्षा गरेको छ । मुगुको छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख  विष्णुकुमार भामले बजेटले राराको प्रवर्धनमा उपेक्षा गरेको गुनासो गर्नुभयो ।

‘स्वर्गकी अप्सरा रारालाई सङ्घीय सरकारले उपेक्षा गरेको छ, रारा घुम्न आउने, आनन्द लिने, वर्षमा एक पटक आएर फोटो खिँच्ने तर बजेटमा राराका विषयमा किन राज्य बोल्न नहुने ?’ उहाँको जिज्ञासा गर्नुभयो । 

नगरप्रमुख भामले मुगुको विकासका लागि सडक सञ्जालसँग जोड्नु पर्ने उल्लेख गर्दै जिल्लाको उज्यालो भविष्य बिजुली, स्वास्थ्य, शिक्षा र चेतना समृद्धिको आधार भएको बताउनुभयो । ‘यस क्षेत्रको वनमा मुगालीको भविष्य लुकेको उहाँले चर्चा गर्नुभयो । त्यस्तै, बजार व्यवस्थापन अर्को महत्त्वपूर्ण विषय भएको उहाँले बताउनुभयो ।

“हाम्रो सिमाना चीनसँग जोडिएको छ । नाकच्यालाग्ना नाकासँग सीधा सम्पर्क छ ।  हाम्रा उत्पादन बिक्री वितरण गर्न कर्णालीलाई राज्यले बजारीकरण गर्न आवश्यक छ” उहाँले भन्नुभयो, “मुगुमा पर्यटन, कृषि, जलविद्युत्, जडीबुटी, जङ्गल र संस्कृतिको उचित उपयोग र प्रवर्धन गर्न आवश्यक छ, तर राज्यले यी सबै कुरालाई बजेटमा समेट्ने प्रयास गरेन’ उहाँले भन्नुभयो ।

मुगुलाई राज्यले उपेक्षा गर्दा मुगु पर्यटन क्षेत्रमा फड्को मार्न नसकेको उहाँको दाबी छ । राज्य सुगमकेन्द्रित भएको र दुर्गमलाई राज्यले नदेख्ने भामले आरोप लगाउनुभयो ।

जिल्ला नागरिक समाजका संयोजक रूपबहादुर मल्लले सरकारको हरेक आर्थिक वर्षमा बजेट वक्तव्यमा नेपालको सबैभन्दा ठुलो रारा ताल र प्रसिद्ध तीर्थस्थल  छायाँनाथ धाम त्यसैगरी जिल्लाको सदरमुकामदेखि तिब्बतको नाकच्यालाग्ना नाका सडक सञ्जालमा जोड्नलाई बजेटमा सम्बोधन गरिएको नपाइएको उहाँले बताउनुभयो ।

राज्यले कर्णालीलाई जहिले उपेक्षा गर्ने गरेको पूर्व प्राचार्य देवबहादुर मल्लले बताउनुभयो । राज्यशक्तिले राजस्व स्रोतको न्यायोचित बाँडफाँट गर्न आवश्यक रहेको उहाँको सुझाव छ ।