• १२ मंसिर २०८१, बुधबार

करफोकमा ‘कुहिरो बेच्ने’ प्रयास

blog

धुपी घारीको बिचमा सजिएको करफोकको सामुदायिक घरबास (होमस्टे) । तस्बिर : प्रेम अधिकारी

प्रेम अधिकारी 

पशुपतिनगर, जेठ १९ गते  । इलामको करफोक हरियालीभित्र हुस्सु र कुहिरोले ढाकिरहने ठाउँ हो । तराईको अचाक्ली गर्मी छल्न आउनेका लागि करफोक क्षेत्र प्राकृतिक ‘एयर कन्डिसन’ बन्ने गर्छ । धुपी घारीको बिचमा सजिएको करफोकमा कुहिरोभित्र लुकामारी गर्न पाउँदा पर्यटक आनन्दित बन्ने गरेका छन् । करफोक पञ्चकन्या क्षेत्रमा पछिल्लो समय ग्रामीण पर्यटन प्रवर्धन गर्नका लागि सामुदायिक घरबास (होमस्टे) सञ्चालन गरिएको छ । 

करफोक खलङ्गा सामुदायिक होमस्टे पर्यटन कार्यालय काँकडभिट्टामा दर्ता गरी यहाँका सात परिवारले एक पटकमा ५० जना पर्यटक बास बसाउने गरी घरबास कार्यव्रmम सञ्चालन गरिएको छ । काठैकाठले निर्माण गरिएका चिटिक्क परेका घरमा पाहुनाको स्वागत सत्कार गर्न थालिएपछि अहिले करफोकमा पर्यटकको भिड लाग्न थालेको छ । 

पर्यटन व्यवसायी तथा पत्रकार केदार शर्माले सूर्योदय नगरपालिकासहित इलामले अब मौसमी पर्यटन प्रवर्धन गर्नुपर्ने बताउनुभयो । उहाँ भन्नुहुन्छ, “हामीले यहाँको कुहिरो बेच्न सकेका छैनौँ, अब कुहिरो बेच्न सक्नु पर्छ ।” उहाँले मौसम अनुसार पर्यटकका लागि प्याकेज निर्माण गर्न सके पर्यटकको आवागमन बढ्न सक्ने बताउनुभयो । शर्माले पछिल्लो समय करफोकमा घरबास सञ्चालन गर्दै आउनुभएको छ । 

यस्तै घरबास सञ्चालन गर्दै आएका चन्द्र सापकोटाले पर्यटकले रुचाउने मौसम भएकै कारण करफोकमा होमस्टे सञ्चालन गरिएको बताउनुभयो । सापकोटाले सूर्योदय नगरपालिकाबाट परिकार बनाउने र स्थानीयस्तरमा खेती प्रविधिको तालिम पाएपछि घरबास सुरु गरिएको जानकारी दिनुभयो । 

सापकोटासँगै करफोकमा ज्योति अधिकारीसहितका सात परिवारले एक घरमा आठ जनाका दरले पर्यटकलाई बास बसाउने गरी होमस्टे सञ्चालन गर्नुभएको छ । “धेरै ठाउँका होमस्टेको अध्ययन गरेर रैथाने खानाका परिकार मात्र चखाउने गरी होमस्टे सञ्चालन गरेका हौँ,” अधिकारीले भन्नुभयो । 

बुधबार पर्यटन कार्यालय काँकडभिट्टाले करफोकका होमस्टेको प्रचार गर्दै इलामको पर्यटन पवर्धन गर्न सरोकारवालासँग छलफल गरेको छ । साबिकको मेची अञ्चलको झापा, इलाम, पाँचथर र ताप्लेजुङको पर्यटन प्रवर्धनको क्षेत्रमा काम गर्दै आएको कार्यालयले यी क्षेत्रको पर्यटन विकासका लागि सरोकारवालाको सुझावसमेत सङ्कलन गरेको हो । 

कार्यालय प्रमुख छवि खतिवडाले ग्रामीण पर्यटन प्रवर्धन र विकासका लागि स्थानीयको आवश्यकता अनुसार काम गर्न सरोकारवालाको सुझाव लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले धेरै स्थानका होमस्टे अवलोकन गर्दा पूर्वमा पाहुना सत्कार (हस्पिटालिटी) मा ध्यान दिन आवश्यक देखिन्छ ।” प्रमुख खतिवडाले कार्यालयले गर्दै आएका गतिविधिको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यव्रmममा पर्यटक कार्यालय काँकडभिट्टाकै कर्मचारी निरोज कट्टेलले पर्यटकको अवस्थाबारे प्रस्तुतीकरण गर्नुभयो । उहाँले कार्यालयले पर्यटकीय गन्तव्यको पहिचान गर्ने, सूचीकृत गर्ने र स्थानीय उत्पादनको ब्रान्डिङ गर्ने काम गर्दै आएको बताउनुभयो । 

इलामको पर्यटनका सवालमा भएको छलफलमा होटल व्यवसायी सङ्घ इलामका अध्यक्ष देवी पौडेलले मेची कोरिडोरमा रहेका पर्यटकीय गन्तव्य र यहाँ गरिने कार्यव्रmमको वार्षिक क्यालेन्डर निर्माण गर्न सुझाव दिनुभयो । उहाँले एउटै मितिमा धेरै स्थानमा कार्यव्रmम हुँदा पर्यटक अलमलमा पर्ने गरेको बताउनुभयो । पौडेलले पर्यटन क्षेत्रमा काम गर्ने साना व्यवसायलाई दर्ता गर्न, सूचना केन्द्र स्थापना गरी पर्यटकका लागि प्याकेज निर्माण गर्न र प्रविधिसम्बन्धी तालिम सञ्चालन गर्न सके पर्यटन क्षेत्रमा सुधार गर्न सकिने बताउनुभयो । 

स्थानीय होटल व्यवसायी, होमस्टे व्यवसायी, पर्यटनकर्मी र जनप्रतिनिधि सहभागी रहेको कार्यव्रmममा पर्यटन क्षेत्रका विभिन्न समस्या औँल्याइएको थियो । 

सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले पर्यटन क्षेत्रको विकासका लागि तीनै तहका सरकारबिच समन्वयको खाँचो रहेको बताउनुभयो । उहाँले कोशी प्रदेश सरकारले सूर्योदय नगरपालिकालाई पर्यटकीय नगरी घोषणा गरे पनि हालसम्म स्पष्ट रणनीति बन्न नसक्दा समस्या भएको बताउनुभयो । अहिले इलाम आएका पर्यटकमध्ये ७० प्रतिशत पर्यटक सूर्योदयको कन्याम, अन्तु, फिक्कल करफोकबाटै फर्किने गरेका छन् । ३० प्रतिशत पर्यटक मात्र इलामका अन्य क्षेत्रमा जाने गरेका पाइएको छ । 

करफोक क्षेत्रमा नेपालकै पुरानो विद्यालयमध्येको करफोक विद्यामन्दिर माध्यमिक विद्यालय, धुपीघारी, पञ्चकन्या मन्दिर, ऐतिहासिक खलङ्गा गडी, पुर्णेडाँडा, स्वामीपार्क जस्ता पर्यटकीय स्थल छन् । नगरले कन्यामदेखि पुर्णेडाँडासम्मको १२ किलोमिटर लामो ‘साइक्लिङ ट्र्याक’ समेत निर्माण गरिरहेको छ । 

सरोकारवालाले इलामका सबै पालिकाले पर्यटनसम्बन्धी गुरु योजना निर्माण गर्न सुझाव दिएका छन् । इलाम नगरपालिकाको पर्यटन समितिका सदस्य राजेन्द्र बरालले अन्तरपालिका समन्वय आवश्यक रहेको बताउनुभयो । इलाममा सानाठुला गरी चार सयको हाराहारी होटल तथा एक सयको हाराहारीमा घरबास रहेका छन् ।