• २२ असार २०८१, शनिबार

कटहरिमा मिनी शीतभण्डार स्थापना

blog

शीत भण्डार । तस्बिर : हरि कोइराला

हरि कोइराला
उर्लाबारी, जेठ १९ गते ।
 मोरङको कटहरि–१ मा १५ मेट्रिक टन क्षमताको मिनी शीत भण्डार निर्माण गरिएको छ । प्रधानमन्त्री कृषि परियोजनाको ८० प्रतिशत अनुदान र गाउँपालिकाको  २० प्रतिशत लगानीमा शीतभण्डार निर्माण गरिएको  गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले बताउनुभयो ।

अध्यक्ष चौधरीका अनुसार प्रारम्भिक चरणमा १५ मेट्रिक टनको निर्माण गरिए पनि माग र आवश्यकता बढ्दै गए क्षमता विस्तार गरी  पाँच सय मेट्रिक टनसम्म बनाउन सकिन्छ । कटहरि गाउँपालिकाले वडा नम्बर २, ३, ४ र ६ लाई र जहदा गाउँपालिकाले वडा नम्बर ३ र ४ लाई तरकारी जोन घोषणा गरेपछि त्यस क्षेत्रमा व्यावसायिक तरकारी उत्पादन हुँदै आएको छ । तरकारी एकै पटक उत्पादन हुने र मूल्य नपाउने विद्यमान अवस्थाले किसान घाटामा व्यापार गर्न बाध्य थिए । अब  किसानले उत्पादन गरेको सबैखाले तरकारी भण्डारण गर्न सक्छन् । शीत भण्डार सञ्चालनमा आएपछि किसानले आवश्यकता अनुसार आफ्नो उत्पादन भण्डार गर्ने र बजारको माग अनुसार बिक्री गर्न पाउने भएका छन् ।

गत वैशाख १९ गते कटहरि –१ को फलफूल तथा तरकारी बजार परिसरमा  निर्माण सुरु भएको शीतभण्डार एक महिना अगावै तयार भएको छ । तरकारी जोन सञ्चालक समन्वय समिति र नेपकुल इन्डष्ट्रिज प्रालिले संयुक्त रूपमा निर्माण गरेको शीतभण्डार २४ लाख ३२ हजार ४०९ रुपियाँमा निर्माण भएको हो । नेपकुलका सञ्चालक सागर उपाध्यायले शीतभण्डार भित्र २ देखि ५ डिग्री सेल्सियस तापक्रम रहने र आवश्यकता अनुसार तापक्रम स्वचालित रूपमा घटबढ हुने बताउनुभयो । हामीले भण्डारण गरेको तरकारीलाई आवश्यक पर्ने तापक्रम स्वचालित रूपमा तय हुन्छ–उपाध्यायले भन्नुभयो ।