• १२ मंसिर २०८१, बुधबार

खानेपानी सहज बन्दै

blog

रेखीराम राना

तानसेन, जेठ १९ गते । तानसेनमा खानेपानी समस्या समाधान हुँदै गएको छ । विगत दुई दशकदेखि खानेपानीको समस्या भोग्दै आएका तानसेनवासीले पछिल्लो समय सहज रूपमा खानेपानी पाउन थालेका हुन् । कालीगण्डकी खानेपानी आयोजनाबाट पर्याप्त पानी आएपछि तानसेनको खानेपानीको समस्या हट्दै गएको हो । 

एक वर्षअघिसम्म पनि एक सातादेखि १५ दिनमा एक पटक आउने धारा पछिल्लो समय एक दुई दिन बिराएर आउने गरेको उपभोक्ताको भनाइ छ । विगतमा भन्दा पानीको धारा सहज रूपमा आएको तानसेन–३, भगवतीटोलका स्थानीय बासिन्दा सचिनकुमार उदासले बताउनुभयो । उहाँले भन्नुभयो, “डेढ दशकदेखि खानेपानीको समस्या झेल्दै आएका थियौँ, यो वर्ष खडेरीमा पनि खानेपानीको अभाव महसुस भएन ।” यो वर्ष वैशाख, जेठ महिनामा पनि धारामा प्रशस्त पानी आएको उहाँले बताउनुभयो । 

तानसेनका उपभोक्ताले आठ वर्षअघि सरकारबाट पानी व्यवस्थापनको जिम्मेवारी लिएका थिए । त्यसपछि उपभोक्ता समितिले पानी व्यवस्थापन गर्न नसक्दा तानसेनवासी काकाकुल बनेका थिए । उक्त समिति गत वर्ष अवैध रहेको घोषणा गर्दै तानसेन नगरपालिकाले नयाँ समिति बनाएपछि खानेपानी वितरण सहज भएको तानसेन–४, बारुखखानका स्थानीय बासिन्दा चित्रवलिराम सुवालले बताउनुभयो । नयाँ समिति आएपछि नयाँ बनेका घरधनीले पनि धारा जडान गर्न पाएको र पानी वितरणमा धेरै सुधार भएको उहाँले उल्लेख गर्नुभयो । 

तानसेनमा गत वर्षको यही अवधिमा दैनिक चार पाँच लाख लिटर मात्र पानी वितरण हुँदै आएको थियो । यो वर्ष भने दैनिक १९ लाख लिटर पानी वितरण गर्दै आएको तानसेन खानेपानी उपभोक्ता समितिले जनाएको छ । नयाँ समिति आएपछि बिग्रिएका पम्पको मर्मत सुधार, विद्युत् लाइन सुधार, वितरण प्रणाली सुधार, नयाँ मूलको खोजी गर्ने जस्ता काम गरेको समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताउनुभयो । 

पुरानो वितरण प्रणाली सुधार गर्दा मात्रै पनि उपभोक्तालाई सहज रूपमा पानी वितरण गर्न सकेको उहाँले दाबी गर्नुभयो । अब नयाँ ३० लाख लिटरको रिजर्भ ट्याङ्की बनाएपछि तानसेनवासीका लागि दिनहुँ पानी दिन सकिने उहाँले बताउनुभयो । रिजर्भ ट्याङ्की बनेपछि कालीगण्डकीको पानी दैनिक ३० लाख लिटर तानसेनमा खस्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

सरकारले २०७३ सालमा तानसेनलाई सुक्खा क्षेत्र घोषणा गरेर कालीगण्डकी खानेपानी आयोजनाका लागि बजेट विनियोजन गरेको थियो । उक्त आयोजनामा हालसम्म ४५ करोडभन्दा बढी खर्च भइसकेको छ । उक्त आयोजनाको अधिकांश काम पूरा भइसकेको र अब उपभोक्ता समितिलाई हस्तान्तरणको काम गर्न बाँकी रहेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय अर्घाखाँचीका इन्जिनियर योगेन्द्र यादवले जानकारी दिनुभयो ।