काठमाडौँ, जेठ १९ गते । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कृषि र सूचना प्रविधिका क्षेत्रका लागि सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा गरिएको व्यवस्था अत्यन्तै राम्रो रहेको बताउनुभएको छ ।
गोरखापत्र संस्थानमा ऐतिहासिक फोटो प्रदर्शनी अवलोकनपछि अध्यक्ष नेपालले कृषि, सूचना तथा प्रविधि क्षेत्रमा छुट्याइएको बजेट समय सान्दर्भिक रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “कृषिको आधुनिकीकरणबाटै मुलुकको समृद्धि सम्भव छ, आत्मनिर्भर अर्थतन्त्र बनाउन सक्ने प्रशस्त आधार छन् । अहिले जस्तै फेरि कृषि उत्पादनलाई निर्यात गर्न सकेमा समृद्धि त त्यसै भइहाल्छ ।”
उहाँले रोजगारी वृद्धि गर्ने, उत्पादकत्वमा वृद्धि गर्ने विषय, विज्ञान प्रविधिको विकास गर्ने विषय बजेटमा राम्रो भएको बताउनु हुँदै पोखरा र भैरहवा विमानस्थल बनाउनु आफैँमा राम्रो भए जस्तै, निजगढको विमानस्थलको काम पनि चाँडै सम्पन्न गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले भ्रष्टाचार नियन्त्रण नगर्दासम्म मुलुकको समृद्धि सम्भव नहुने र भ्रष्टाचार अन्त्य गर्ने विषयमा काम गरेर देखाउनुपर्ने बताउनुभयो ।
राजनीतिक सहकार्यमा जोड
पूर्वप्रधानमन्त्री नेपालले राजनीतिक दल र नेताबिचको छलफल र सहकार्यले राजनीतिक समस्या समाधान हुने बताउनुभयो । उहाँले चार राजनीतिक दल र चार नेताबिचको सहमतिका आधारमा नयाँ समीकरण बनेको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “आपसी छलफल र समझदारीले समस्या समाधान हुन्छ ।
कसैलाई बाइपास गरेर समस्या समाधान हुँदैन ।” अध्यक्ष नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफलबाट कोही डराउनु नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “भेटघाट र छलफल गर्दैमा कोही डराउनु पर्दैन । हामीले गर्ने काम भनेको देश र जनतालाई केन्द्रमा राखेर गर्ने हो । आत्ति हाल्नुपर्ने कुरा केही छैन । भेटघाटका लागि बोलाएको ठाउँमा जानु पर्छ ।”
उहाँले समस्याको पहिचान गरी योजनाबद्ध प्रयास गरे देशका समस्या समाधान हुने बताउनुभयो । उहाँले भन्नुभयो, “समस्याको सही पहिचान गरी पहिलो प्राथमिकतामा गर्नुपर्ने काम के हो गर्नु पर्छ, त्यसपछिका प्राथमिकताका काम क्रमशः गर्दै जानु पर्छ ।” उहाँले आफ्नो पार्टी निर्णायक अवस्थामा नरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो दल अहिले निर्णायक शक्तिमा छैन, हामी सरकारबाट बाहिर जाँदा पनि सरकार ढल्ने होइन ।”
उहाँले संसद्मा आधार र सङ्ख्या सानो भए पनि आफ्नो दल सत्ता साझेदार भएको प्रस्ट पार्दै महTवपूर्ण निर्णय गर्दा सल्लाह र सुझाव लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एक्लाएक्लै निर्णय गर्दा समस्या आइपर्छ ।”
उहाँले सङ्घीय सरकारमा बस्न र प्रदेश सरकारमा अर्कै गठबन्धनमा बस्न नमिल्ने प्रस्ट पार्नुभयो । उहाँले अहिलेको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने विषयमा पार्टीले नै अन्तिम टुङ्गोमा पुग्ने बताउनुभयो । उहाँले पहिलेदेखि नै आफूहरू मधेश सरकारमा सहभागी हुँदै आएको बताउनु हुँदै मुख्यमन्त्री भएको पार्टी पनि केन्द्रीय सरकारमा महत्वपूर्ण हिस्सेदार पनि रहेको अवस्थामा एकीकृत समाजवादी मधेश प्रदेश सरकारमा सहभागी हुनु स्वाभाविक हुने बताउनुभयो ।
भ्रष्टाचार अन्त्य गर्नु पर्छ
अध्यक्ष नेपालले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । एकीकृत समाजवादीका नेता देवशङ्कर पौडेलद्वारा लिखित ‘लिखुसँग आत्मसमर्पण’ पुस्तक विमोचन गर्दै उहाँले अहिलेका अधिकांश नेता तथा कार्यकर्ता भ्रष्टाचारको दलदलमा फस्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।