काठमाडौं, जेठ १८ गते। पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललले तस्बिर आफैमा जीवन्त प्रमाण भएको बताउनुभएको छ।
गोरखापत्र संस्थान परिसरमा ऐतिहासिक तस्बिरको अवलोकन गर्दै उहाँले सो कुरा बताउनुभएको हो।
तस्बिरले त्यस समयको यथार्थलाई प्रतिबिम्बित गर्ने भएकाले तस्बिर आफैमा जीवन्त प्रमाण भएको उहाँले बताउनुभयो।
उहाँले भन्नुभयो , “तस्बिर आफैमा जीवन्त प्रमाण हो, समाचार वा अन्य कुराहरु फरक फरक पार्न सकिएला तर, फोटोले त्यस समयको यथार्थ अवस्था प्रस्तुत गरेको हुन्छ। त्यसैले तस्बिर ज्वलन्त, यथार्थलाई प्रतिबिम्बित गर्ने किसिमको हुनुपर्छ।”
गोरखापत्रले गरेको तस्बिर प्रदर्शनीको प्रशंशा गर्दै उहाँले अझै ऐहिासिक तस्बिरको खोजी गरेर प्रदर्शनीहरु राख्नुपर्ने बताउनुभयो।
२०४६ सालको जनआन्दोलनलाई सम्झदै उहाँले भन्नुभयो, “जनआन्दोलनको सुरुवात, यसको उत्कर्ष र सफलतापछि भाषणको अवस्थाको चित्रण गर्न सके अझै राम्रो हुन्थ्यो। गणेशमान सिंहसमक्ष प्रधानमन्त्रीको अफर लिएर को गयो ? प्रस्ताव अस्वीकार गर्दाको क्षणको तस्बिर खिच्न सकेको भए कस्तो हुन्थ्यो होला ?”
नेपालले नाकाबन्दीको समयमा गरेको सामना र यसको विकल्पको रुपमा अपनाएका पाटाहरुका बारेमा समेत फोटोहरु गोरखापत्रले खोज्नुपर्ने उहाँको भनाइ छ।
उहाँले भन्नुभयो, ‘‘भारतले गरेको नाकाबन्दीको समयमा बंगलादेशबाट पेट्रोल ल्याएको अवस्था, नेपालले अपनाएका विकल्प र सहयोग गर्न को को आए भन्ने कुरा तस्बिरमा हेर्न पाए हुन्थ्यो।”
संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्रका सबै प्रकाशन डिजिटल बनाउने काम गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “गोरखापत्रको सबै प्रकाशन जिडिटलाइज्ड गरिहेका छौँ। ६८ वर्षको सकिएको छ। अब आगामी वर्ष सबै प्रकाशनहरु डिजिटलाइजेसन गरिसक्छौँ।”
गोरखापत्र आफ्नै स्वआर्जनबाट सञ्चालिन भइरहेको उहाँले बताउनुभयो। आर्थिक मन्दीकाबिच पनि गोरखापत्र संस्थान निरन्तर नाफामा रहेको चर्चा गर्नु हुँदै अध्यक्ष सुवेदीले भन्नुभयो, “भौतिक संरचना निर्माणका लागि, आवश्यक बजेटका पूर्व प्रधानमन्त्रीलज्यूले आवश्यक सहयोग गरिदिनुपर्यो। भूकम्पले चिरा परेको भवनबाट ज्यान जोखिममा राखेर दुई सय कर्मचारी काम गर्न बाध्य छन्।”
संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्र संस्थानले अत्याधुनिक ल्याब कक्ष निर्माण गरी डिजिटलाइजेशनको काम गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “गोरखापत्रमा अत्याधुनिक ल्याव कक्ष निर्माण गरेर डिजिटलाइजेसनको काम गरिरहेको छ। गोरखापत्रका प्रकाशनहरुमा सबै नागरिकको सहज पहुँच होस् भनेर यो काम गरेका हौँ।” गोरखापत्रका प्रकाशनलाई सुरक्षित गर्नको लागि त्रिवि पुस्तकालय, मदन भण्डारी पुस्तकालय, राष्ट्रिय अभिलेखालयसँग समन्वय भइरहेको उहाँको भनाइ छ।
भिडियो : मनोजरत्न शाही