• ४ पुस २०८१, बिहिबार

वन्यजन्तु जोगाउन नयाँ योजना

blog

शान्ता अधिकारी 

सौराहा (चितवन), जेठ १८ गते  । २०७४ सालमा राप्ती नदीमा आएको बाढीले बगाएर भारतीय भूमिमा पुगेका १३ वटा गैँडा नेपाल फर्काउन चितवन राष्ट्रिय निकुञ्जलाई सात वर्ष लाग्यो । उक्त बाढीमा परेर सयौँ जङ्गली जनावर मरे पनि केही बगेर भारतीय भूमिमा पुगे ।

नेपाली सीमाभन्दा ३८ किलोमिटर टाढा भारतको बगाहाबाट नेपालले गैँडा फिर्ता ल्याइएको थियो । प्रत्येक वर्ष वर्षाको समयमा राप्ती र नारायणी नदीमा आउने बाढी र निकुञ्जभित्रका सीमसार क्षेत्रमा पानीको सतह बढ्दा वन्यजन्तु बग्नु र मर्नु नियति जस्तै बनेको छ । यसलाई नियन्त्रण गर्न बाघमारा मध्यवर्ती सामुदायिक वनले पहिलो पल्ट नयाँ योजना सुरु गरेको छ । जङ्गली जनावरको बाक्लो उपस्थिति रहेको क्षेत्रमा माटोको ढिस्का बनाउने योजना छ । नमुना स्वरूप दुई वटा ढिस्का बनाइएको छ । बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जितबहादुर तामाङ (जितु) का अनुसार चितवन राष्ट्रिय निकुञ्जको समन्वयमा उक्त ढिस्को निर्माण गरिएको हो । अध्यक्ष तामाङ भन्नुहुन्छ, “हामीले निकुञ्जसँग समन्वय गरेर यो नयाँ प्रयोग सुरु गरेका हौँ । सफल हुन्छ भन्ने लागेको छ ।”

भारतको काजिरङ्गा निकुञ्जमा नदीको बहावबाट जोगिनका लागि यस्तै प्रकारको मानव निर्मित टापु बनाइएका छन् । अध्यक्ष तामाङ सोही कार्यलाई आफूहरूले अनुसरण गरेको बताउनुहुन्छ । वनभित्र निर्माण गरेको माटोका ढिस्का देखाउँदै, उहाँले भन्नुभयो, “हामीले दुई वटा यस्तै ढिस्का बनाएका छौँ । यसको माथि घाँस र छेउछाउमा बाँस लगाउने तयारीमा छौँ । यो नेपालको निम्ति नयाँ हो ।”

सात फिट अग्लो तीन कट्ठा १५ धुर क्षेत्रफलको ढिस्का बनाइएका छन् । वन क्षेत्रको सिमसार क्षेत्रबाट ढिस्का बनाउन माटो ल्याइएको हो । यी दुई माटोको ढिस्का बनाउँदा १० लाख रुपियाँ खर्च भएको उहाँले बताउनुभयो । राष्ट्रिय निकुञ्जले यसको प्रभावकारितालाई दृष्टिगत गरी निकुञ्ज कोर क्षेत्र जहाँ बाढीको समस्या हुन्छ त्यस्ता क्षेत्रमा यस्ता ढिस्का बनाउने उहाँले बताउनुभयो । निकुञ्जमा राप्ती र नारायणीमा प्रत्येक वर्ष वर्षायाममा बाढी आउने र बाढीमा निकुञ्जमा रहेका गैँडा, हात्तीलगायत साना ठुला जङ्गली जनावर र जलचरसमेत बगेर भारतसम्म पुग्ने गरेका छन् ।

निकुञ्ज क्षेत्रको चुरे हिल र केही प्राकृतिक टापुले मात्र निकुञ्जका वन्यजन्तुलाई बग्नबाट रोक्न सक्ने अवस्था छैन । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार विगतमा बाढीमा परेर धेरै वन्यजन्तु मरेको र २०७४ को बाढीले बगाएका गैँडा फर्काउनसमेत पाँच वर्ष लागेको थियो । बाढीले बगाएका जङ्गली जनावर भारत विहारको संरक्षित क्षेत्र वाल्मीकि टाइगर रिजर्भ, बगाहा, चुनभत्ती, भलुवाई नाला, टङ्की बजार, सुस्ता, त्रिवेणीलगायतका स्थानमा पुग्ने गरेको बताइन्छ ।