• १४ मंसिर २०८१, शुक्रबार

गणतन्त्र प्राप्तिपछि मुलुकको विकासले गति लिएको छ : अध्यक्ष नेपाल

blog

तस्बिर:रासस

काठमाडौँ, जेठ १७ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गणतन्त्र प्राप्तिपछिका अवधिमा मुलुकको समग्र विकासले गति लिएको बताउनुभएको छ ।

गणतन्त्र दिवस-२०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धि: समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको अवलोकनपश्चात् उहाँले मुलुकमा आर्थिक समृद्धिको प्रमुख आधार मानिएको पूर्वाधार क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ भन्नुभयो । अध्यक्ष नेपालले गणतन्त्र स्थापनापछि नेपालमा ‘केही पनि भएको छैन’ भन्नेलाई फोटो प्रदर्शनीले गतिलो जवाफ दिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “गणतन्त्रपछिको अवधिमा विकास निर्माणको कार्य उपलब्धिमूलक भएको छ, त्यसको झलक प्रदर्शित तस्बिरले सबै कुरा यथार्थरुपमा बोलेको छ ।” पूर्व प्रधानमन्त्री नेपालले गणतन्त्रका उपलब्धिलाई जनता माझ लैजान र जनताको पक्षमा काम गर्न सबै जिम्मेवारीताकासाथ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले गणतन्त्र प्राप्तिपछिका उपलब्धिलाई फोटोले सचित्र वर्णन गरेको पनि उल्लेख गर्नुभयो ।

अध्यक्ष नेपाललाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, सञ्चालक समिति सदस्य कृष्ण अधिकारी, नायब महाप्रबन्धकत्रय राजु शाक्य, श्याम रिमाल र सोमनाथ लामिछाने, प्रधान सम्पादक उत्तम सिलवाल , प्रमुख समाचारदाता एकराज पाठक र प्रशासन प्रमुख शीतलप्रसाद महतोलगायतले प्रदर्शनीमा राखिएका तस्बिरका बारेमा जानकारी गराउनुभएको थियो । सो क्रममा पूर्व प्रधानमन्त्री नेपालले राससको केन्द्रीय समाचार सङ्कलन तथा सम्पादन कक्षको अवलोकन गरी समाचार सङ्कलन र सम्प्रेषणका बारेमा जानकारी लिनुभएको थियो ।

यही जेठ १० गतेदेखि सुरु भएको प्रदर्शनीमा मुलुकका तीनवटै तहका सरकारले आफ्नो सीप, जनशक्ति र पुँजी तथा छिमेकीका साथै अन्य मित्रराष्ट्रसमेतका सहायतामा निर्मित एवम् निर्माणाधीन राष्ट्रिय तथा प्रादेशिक गौरवका आयोजनाका तस्बिर समावेश छन् । वि.सं.२०७२ को ‘गोरखा भूकम्प’बाट भत्किएका ऐतिहासिक धरोहरको पुनः निर्माणपछिका संरचना, मानवीय विकास, शिक्षा, स्वास्थ्य, उद्योग, सडक, सिँचाइ, खानेपानी, विद्युत उत्पादनलगायत विषयमा सङ्कलन गरी राससबाट सम्प्रेषित तस्बिर प्रदर्शनीमा राखिएका छन् । 

सातवटै प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधारसम्बन्धी ९५ तस्बिर प्रदर्शनीमा समेटिएका छन् । राससले गत वर्ष गणतन्त्र दिवसका अवसरमा ‘हाम्रो संस्कृति: हाम्रो सम्पदा’ शीर्षकमा तस्बिर प्रदर्शनी गरेको थियो । प्रदर्शनीमा ऊर्जा, विमानस्थल, पर्यटन, बाटोघाटो, सडक, पुल, स्वास्थ्य शिक्षाका संरचना, सम्पदा पुनः निर्माण, तराईका हुलाकी मार्ग, मूलपानी क्रिकेट मैदान, काठमाडौँ-मधेस द्रुतमार्ग, थानकोट-नागढुङ्गा सुरुङमार्ग, सुनकोशी–मरिन डाइभर्सन बहूद्देश्यीय आयोजना, सौर्य प्यानल, टेलिफोनका फोरजी टावर, एकीकृत बस्ती, राष्ट्रिय गौरव, प्रदेश गौरवका आयोजनालगायत तस्बिर समावेश छन् । तस्बिर प्रदर्शनीमा विशिष्ट व्यक्ति र जिज्ञासु सर्वसाधारण आउने क्रम जारी रहेकाले प्रदर्शनीको समयावधि एक साता थप गरिएको छ । रासस