• १३ साउन २०८१, आइतबार

कास्कीमा बस दुर्घटना : आठ घाइते

blog

कास्कीको अन्नपूर्ण गाउँपालिकाको लेवाडेमा बिहीबार बिहान पल्टिएको बस । तस्बिर : फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी
लेखनाथ, जेठ १७ गते ।
काठमाडौँबाट म्याग्दीको बेनी जाँदै गरेको बस कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ लेवाडेमा दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बिहीबार बिहान पौने ४ बजे बा५ख २८५ नम्बरको बस लेवाडेमा सडकको दायाँ साइडतर्फ नालामा पल्टिएको हो ।

बसमा सवार १३ जनामध्ये आठ जना घाइते भएका छन् । बसका चालक पर्वतको जलजला गाउँपालिका वडा नं.८ बस्ने वर्ष ३६ का बलबहादुर फगामी मगरको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । म्याग्दीको मालिकाका ३९ वर्षीय टकबहादुर कामी र सोही जिल्लाको मङ्गला गाउँपालिका वडा नम्बर १ निस्कोटका ४५ वर्षीय प्रेम पुनको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

मालिका वडा नम्बर ८ का ५७ वर्षीय तिलक शर्मा र दरबाङ बस्ने वर्ष १५ की सबिता श्रीपालीलाई पनि उपचारका लागि गण्डकी मेडिकल कलेजमा ल्याइएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो । सोही दुर्घटनामा घाइते दरबाङ बस्ने वर्ष १७ का भीमसेन अधिकारीको बेनी अस्पताल म्याग्दीमा उपचार भइरहेको छ ।

मङ्गला गाउँपालिका १ सिमह बस्ने वर्ष ५७ की हरि केसी र म्याग्दीकै २५ वर्षीया रञ्जना हमालको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस घटनास्थलमै रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।