• १५ असार २०८१, शनिबार

सङ्घीय बजेटमा कर्णाली प्राथमिकतामा

blog

जाजरकोटमा निर्माण हुने नलगाड जलविद्युत् आयोजनाको निर्माणस्थल ।

रजनी योगी/नवीन शाही

सुर्खेत, जेठ १७ गते । सङ्घीय सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा कर्णाली प्रदेश विशेष प्राथमिकतामा परेको छ । 

सरकारका तर्फबाट आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटमा सरकारले कर्णालीको विकासलाई विगतमा भन्दा यस पटक बढी मात्रा र फरक ढङ्गले समेटेको छ । सरकारको नीति तथा कार्यक्रम र बजेटमा कर्णालीका अधिकांश विगतकै कार्यक्रमलाई निरन्तरता दिइएको भए पनि यस पटक अलि फरक र विविध क्षेत्रलाई पनि समेट्ने कोसिस गरिएको छ । 

स्वास्थ्यतर्फ

बजेटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई स्तरोन्नति गरी पाँच सय शøयाको अस्पताल बनाइने घोषणा गरिएको छ । त्यसै गरी सुर्खेत मेडिकल कलेज स्थापनाको पुरानो योजनालाई पनि सङ्घीय सरकारले अघि बढाउने घोषणा गरेको छ । विगत केही वर्षदेखिका हरेक सरकारले यो योजना बजेटमा समावेश गर्ने गरे पनि योजना कार्यान्वयन हुन सकेको छैन ।

पूर्वाधारतर्फ

सङ्घीय सरकारले पूर्वाधारतर्फ दुई प्रदेशलाई गाभेर बजेट विनियोजन गरेको छ । मधेश र कर्णाली प्रदेशको पूर्वाधार विकासका लागि डेढ अर्ब छुट्याइएको छ । अर्थमन्त्री पुनले मधेश र कर्णाली प्रदेश विकासका लागि एक अर्ब ५० करोड रुपियाँ बजेट विनियोजन गरेको बताउनुभयो ।

स्थानीय सडक पुल निर्माणका लागि चार अर्ब २७ करोड रुपियाँ विनियोजन गरिएको उहाँले बताउनुभयो । कर्णालीको सीमान्तकृत तथा पिछडिएको क्षेत्रको आर्थिक सामाजिक विकास र सशक्तीकरणका लागि समृद्धि कार्यक्रम कार्यान्वयन गरिने भएको छ । सरकारले कर्णाली कोरिडोरको निर्माणका लागि चार अर्ब ४३ करोड विनियोजन गरेको छ । कर्णाली राजमार्ग, कोहलपुर–सुर्खेत रत्न राजमार्गलगायतका सडक आयोजनाको स्तरोन्नतिका लागि पनि बजेट विनियोजन गरिएको छ । कर्णाली कोरिडोर र भेरी कोरिडोरलाई समेत बजेटमा समावेश गरिएको छ ।

पूर्वी सुर्खेतका तीन वटा पालिका समेटेर आधुनिक सहर (स्मार्ट सिटी) बनाउने योजना बजेटमा समावेश छ । भेरीगङ्गा, गुर्भाकोट र लेकबेँसी नगरपालिकालाई जोड्ने गरी भेरी किनारमा नमुना आधुनिक सहर बनाउन गुरुयोजना निर्माणको काम अघि बढाइने भएको छ । नयाँ सहर आयोजना समन्वय केन्द्रीय कार्यालयले नदी किनारका क्षेत्रहरूलाई समेटेर गुरुयोजनाको काम सुरु गरेको छ ।

यसबाहेक भेरीगङ्गालाई पहाडको आधुनिक सहर बनाउन गुरुयोजना तर्जुमा गरिने बताएको छ । हवाई यातायातका क्षेत्रमा सुर्खेत विमानस्थल र जुम्ला विमानस्थलको स्तरोन्नति गरिने उल्लेख छ । भेरी–बबई बहुउद्देश्यीय आयोजनाका लागि दुई अर्ब रकम विनियोजन गरिएको छ । उक्त रकमबाट आयोजनाको हेडवक्र्स र विद्युत्गृह निर्माण गरिने पुनले बताउनुभयो ।

खेल पूर्वाधारतर्फ

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ६० करोड बजेट विनियोजन गरिएको छ । राष्ट्रिय खेलकुद प्रतियोगिताको आगामी संस्करण कर्णालीमा हुने भएपछि खेल पूर्वाधार निर्माण भइरहेका छन् ।

कर्णालीमा २०८१ मङ्सिर २ देखि दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदै छ । त्यसका लागि आवश्यक पूर्वाधारको तयारी धमाधम भइरहेको छ । प्रतियोगितालाई लक्षित गरी जिल्ला जिल्लामा खेल पूर्वाधार निर्माण भइरहेका छन् ।

पुनर्निर्माणतर्फ

सरकारले जाजरकोट र रुकुमपश्चिमलगायतका स्थानमा आएको भूकम्पका कारण भएको क्षति पुनर्निर्माणका लागि २१ अर्ब रुपियाँ छुट्टाएको छ । सरकारले भूकम्पबाट क्षतिग्रस्त भएका निजी भवनको तथ्याङ्क निकालेर पुनर्निर्माण प्रव्रिmया अघि बढाउने घोषणा गरेको छ । स्वास्थ्य संस्था, विद्यालयको शीघ्र पुनर्निर्माण गर्ने सरकारको घोषणा छ । यसका लागि २१ अर्ब ६० करोड विनियोजन गरिएको छ ।

अन्य योजना

कर्णाली एकीकृत सिँचाइका लागि ८२ करोड बजेट विनियोजन गरिएको छ । विगतमा पनि बजेटमा सम्बोधन हुँदै आएको यो कार्यव्रmम १० वटै जिल्लामा लागु हुने भनिएको छ । यस्तै कर्णालीमा कृषि र वन पैदावारमा आधारित समृद्ध कर्णाली उद्यमशीलता कार्यक्रम सञ्चालन गरिने कुरा पनि बजेटमा समेटिएको छ ।

कर्णालीमा जिल्लाहरूमा दिँदै आएको दिवा खाजाको बजेटमा वृद्धि गरिएको छ । यस्तै उपल्लो डोल्पा, हुम्लाको लिमी उपत्यकालाई नयाँ नमुना बस्ती निर्माण गरी आर्थिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ । विद्युत् उत्पादनतर्फ ४१७ मेगावाटको नलगाड, १०६ मेगावाटको जगदुल्ला आयोजना निर्माण गरिने बजेटमा उल्लेख गरिएको छ ।