• १२ मंसिर २०८१, बुधबार

हावाहुरीका कारण भेनियर उद्योगमा करोडभन्दा बढीको क्षति

blog

विष्णुप्रसाद पोखरेल
दमक, जेठ १६ गते ।
झापामा मङ्गलबार राती आएको हावाहुरीका कारण करोडभन्दा बढीको क्षति पुगेको छ । राती चट्याङसहित आएको हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार मेचीनगर नगरपालिका वडा नं. १० मा डिल्लीराम श्रेष्ठले सञ्चालन गरेको भेनियर उद्योगमा एक करोडको क्षति पुगेको छ ।

भेनियर पत्ता, कामदार बस्ने कटेज, मेसिन लगायतमा हावाहुरीले क्षति पुगेको चन्दले जानकारी दिनुभयो । प्रारम्भिक रुपमा आएको विवरण अनुसार एक करोडको क्षति पुगेको देखिएको उहाँले जनाउनु भयो ।

यसैगरी, यही वडाको लालपानीमा श्याम न्यौपानेले सञ्चालन गर्नुभएको सिद्धबिनायक भेनियर उद्योगमा कच्चा पदार्थ र उद्योगको टिनको छानो उडाउँदा १० लाखभन्दा बढीको क्षति पुगेको प्रहरीले जनाएको छ ।