• १० मंसिर २०८१, सोमबार

प्रदेश र स्थानीय तहलाई पाँच खर्ब ६७ अर्ब दिने घोषणा

blog

अर्थमन्त्री वर्षमान पुन सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा वार्षिक बजेट पेस गर्नुहुँदै । तस्बिर : केशब गुरुङ

काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहलाई पाँच खर्ब ६७ अर्ब रुपियाँ दिने घोषणा गरेको छ ।  अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुहुँदै यस्तो घोषणा गर्नुभएको हो ।

उहाँले प्रदेश र स्थानीय तहलाई समानिकरण अनुदान, समपूरक अनुदान, शसर्त अनुदान र विशेष अनुदानका साथै राजस्व बाँडफाँटबाट प्रदेश र स्थानीय तहलाई पाँच खर्ब ६७ अर्ब रुपियाँ दिन लागिएको जानकारी दिनुभयो । उहाँले आगामी वर्ष समानिकरणबाट प्रदेशलाई ६० अर्ब रुपियाँ र स्थानीय तहलाई ८८ अर्ब रुपियाँ दिन लागिएको बताउनुभयो ।

मन्त्री पुनले विशेष अनुदानको रूपमा प्रदेशलाई चार अर्ब रुपियाँ र स्थानीय तहलाई आठ अर्ब रुपियाँ दिन लागिएको बताउनुभयो  । मन्त्री पुनले प्रदेश र स्थानीय तहलाई राजस्व बाँडफाँडबाट एक खर्ब ५९ अर्ब रुपियाँ हस्तान्तरण हुने जानकारी दिनुभयो ।

उहाँले शसर्त अनुदानअन्तर्गत प्रदेशलाई २५ अर्ब ८४ करोड रुपियाँ र स्थानीय तहलाई दुई खर्ब आठ अर्ब ८८ करोड रुपियाँ दिन लागिएको जानकारी दिनुभयो । उहाँले समपूरकअन्तर्गत प्रदेशलाई ६ अर्ब तथा स्थानीय तहलाई सात अर्ब रुपियाँ दिन लागिएको बताउनुभयो ।