• ९ असार २०८१, आइतबार

१७ औं गणतन्त्र दिवस विशेष

'गणतन्त्रसँग जनताको ठूलो भरोसा छ’

blog

काठमाडौं, जेठ १४ गते । पूर्व उपसभामुख एवम् नेपाली कांग्रेसकी नेतृ पुस्पा भुसालले गणतन्त्रसँग नेपाली जनताले ठूलो आशा र भरोसा राखेको बताउनुभएको छ । गणतन्त्र दिवसको सन्दर्भमा गोरखापत्रसँग कुरा गर्नुहुँदै उहाँले परिवर्तनको आन्दोलनलाई जनताले समर्थन गरेको र त्यसबाट ठूलो आशा र भरोसा पनि राखेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “नेपाली राजनीतिक आन्दोलनले एउटा मौलिकता बोकेको छ । हरेक आन्दोलन २००४ सालदेखि २००७ साल, २०१५, २०१८ सालदेखि लिएर विभिन्न २०४६ साल, २०६२-६३ को आन्दोलन, जुन दलहरुले नेतृत्व गरेको छ, जनताले त्यसलाई स्वीकृति प्रदान गरेको छ । जनताले त्यसलाई समर्थन गरेको छ । सबभन्दा सुन्दर पक्ष त्यहाँ छ ।”

उहाँले हरेक नेपाली जनताले राजनीतिक परिवर्तनपछि आर्थिक र सामाजिक रुपान्तरणका मुद्दाहरु प्रमुखरुपमा रहेको भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “सबभन्दा पहिला त गणतन्त्रले जनतालाई सार्वभौम बनाएको छ । मुलुकको शासन पद्दतिको एउटा निर्णय गर्ने, जनताकै छोरा वा छोरीले त्यो ठाउँमा पुग्ने अवसरहरु प्रदान गरेको छ । जनतालाई केन्द्रबिन्दु बनाएर गणतन्त्रको घोषणा पनि भएको छ भने गणतन्त्रका विभिन्न आधारभूत राजनीतिक, आर्थिक, सामाजिक मुद्दाहरुलाई संविधानले पनि आफ्नो दस्तावेजमा सम्बोधन गरेको छ । यसको मुख्य उपलब्धि भनेको जुन हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको शासण प्रणालीलाई अवलम्वन गरेका छौं । समावेशी लोकतन्त्र, समावेशी गणतन्त्र हामीले प्राप्त गरेका छौं । त्यो नै सबैभन्दा ठूलो उपब्धिको रुपमा रहेको छ ।”

गणतन्त्रले जनतालाई सार्वभौम बनाएको छ । मुलुकको शासन पद्दतिको एउटा निर्णय गर्ने, जनताकै छोरा वा छोरीले त्यो ठाउँमा पुग्ने अवसरहरु प्रदान गरेको छ ।

उहाँले संविधानमा समानुपातिक समावेशीताको विषय लेखिएको उल्लेख गर्नुहुँदै यसखाले आश्वासन नेपाली जनतालाई दिइएकोले कार्यान्वयनको पक्ष प्रभावकारी बन्दै जानुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “संविधानमा धेरै कुराहरु प्राप्त ग¥यौं । जस्तो, उदाहरणको रुपमा समानुपातिक समावेशीताको कुराहरु, हामीले प्रस्तावनामै लेख्यौं । स्वतन्त्रता, समानता, विकासका कुराहरु लेख्यौं । मौलिक हकमा हामीले धेरै त्यस्ता आश्वासनहरु आम नेपाली जनतालाई दिएका छौं । किन हामीले धेरै विषयहरु लेख्यौं भने हामीले हाम्रो समाज नै एकदम विविधताले भरिएको समाज पनि हो जसले एउटा समावेशीकरण पनि खोजिरहेको हुन्छ ।

त्यो विविधतालाई सम्बोधन गर्नका लागि हामी बहुजातिय, बहुधार्मिक, बहुभाषिय, सामाजिक संरचना, रहनसहन, भाषा, भेषभूषा, अलग–अलग रहेको हुनाले त्यसलाई सम्बोधन र सम्मान गर्नुपर्ने हुन्छ ।” उहाँले नेपालले एउटा अन्तराष्ट्रिय सम्बन्ध कायम गरेको भन्नुहुँदै २३ भन्दा बढी अन्तराष्ट्रिय सन्धीहरु मानव अधिकारसँग सम्बन्धीत महासन्धीहरु पास गरेर नेपालले प्रतिबद्धता व्यक्त गरेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालले एउटा अन्तराष्ट्रिय सम्बन्ध कायम गरेको छ । २३ भन्दा बढी अन्तराष्ट्रिय सन्धीहरु मानव अधिकारँग सम्बन्धीत महासन्धीहरु पास गरेर प्रतिबद्धता व्यक्त गरेको छ । महिलामा भेदभाव गर्नु हुँदैन, हरेक ठाउँमा महिलालाई अगाडि बढाउनुपर्दछ भन्ने सिडजस्तो महत्वपूर्ण अभिसन्धीलाई नेपाल कानुनले आफ्नो कानुन सरह मान्यता दिएको छ ।

अहिलेको नेपाल सरकारले एउटा जनताको आर्थिक र सामाजिक समृद्धिको लागि दीगो विकासको लक्ष्यको अवधारणालाई समेत प्रतिबद्धता व्यक्त गरेको छ  । जसमा १७ वटा बुँदा हेर्ने हो भने जनतासँग जोडिएका बुँदाहरु पनि छन् ।” गणतन्त्र दिवसको सन्दर्भमा पूर्व उपसभामुख  तथा नेपाली कांग्रेसकी नेतृ पुस्पा भुसालसँग गरिएको भिडियो सामग्री:


भिडियोमाः मनोजरत्न शाही र केशब गुरुङ

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।