• ४ असार २०८१, मङ्गलबार

केरा काटेर नष्ट गर्ने चार बालक पक्राउ

blog

शालिग्राम नेपाल
चितवन, जेठ १४ गते । 
पूर्वी चितवन खैरहनी नगरपालिका–३ स्थित करिब पाँच कठ्ठा क्षेत्रफलमा लगाएको केरा काटेर नष्ट गर्ने चार जना बालकलाई प्रहरीले पक्राउ गरेको छ । यही जेठ १ गते राती १ बजेको समयमा पाँच कठ्ठामा लगाएको ३१५ बोट केरा काटिएको थियो ।

उक्त घटनामा संलग्नहरूलाई जेठ १० गते खैरहनी–८ मा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो । प्रहरीले पक्राउ परेका बालकको पहिचान गोप्य राखेको छ । उनीहरूमाथि चितवन जिल्ला अदालतबाट म्याद थपेर आपराधिक उपद्रो मुद्दामा अनुसन्धान भइरहेको रिजालले बताउनु भयो ।

पक्राउ परेका बालकहरू एक जना १२ वर्ष, एक जना १३ वर्ष र दुई जना १४ वर्षका रहेका छन् । उनीहरू सबै स्थानीय रहेको प्रहरीले जानकारी दिएको छ ।

‘‘घरबाहिर एक रात नाइट स्टे बस्ने भनेर चार जनाबिच सल्लाह भएपछि घरनजिकै र सुरक्षित हुन्छ भनेर केराखेती भएको ठाउँमा बसे । त्यहाँ बस्ने क्रममा कसले कति केरा काट्ने भन्ने उटपट्याङ चलेको देखिन्छ’’, प्रहरीले भनेको छ ।