• ४ असार २०८१, मङ्गलबार

कांग्रेसलाई आधारहीन, अराजनीतिक लाञ्छनाबाट पछि हट्न एमालेको आग्रह

blog

एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल सहकारी प्रकरणबारे संसदीय छानबिन समिति बनाउन निष्कर्षमा पुग्ने भनिएको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै ।

काठमाडौँ, जेठ १४ गते । नेकपा एमालेले नेपाली कांग्रेसलाई आधारहीन, अराजनीतिक लाञ्छनाबाट पछि हट्न आग्रह गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सहकारी प्रकरणबारे संसदीय छानबिन समिति बनाउन निष्कर्षमा पुग्ने भनिएको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सो आग्रह गर्नुभएको हो ।

उपाध्यक्ष पौडेलले कांग्रेस कुनै सहमतिको पक्षमा, समस्या समाधानको पक्षमा नरहेको जिकिर गर्नुहुँदै सान्दर्भिक, अनुचित, आधारहीन, पूर्वाग्रहपूर्ण आरोपहरू लगाउँदै राष्ट्रिय राजनीतिक परिस्थितिलाई बिथोल्ने काममा लागेको बताउनुभयो ।

साथै उहाँले एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति कांग्रेसले लगाएको आरोपको लिखित र सार्वजनिक माफी नमागे एमाले आरोपहरू सुनेर नबस्ने चेतावनी दिनुभयो ।

‘‘नेपाली कांग्रेस कुनै सहमतिको पक्षमा, समस्या समाधानको पक्षमा छैन भन्नेकुरा पछिल्ला दिनका घटनाक्रमहरूले, उसका अभिव्यक्तिले सङ्केत गरिरहेको छ । विशेष गरी एउटा असान्दर्भिक, अनुचित, आधारहीन, पूर्वाग्रहपूर्ण आरोपहरू लगाउँदै राष्ट्रिय राजनीतिक परिस्थितिलाई बिथोल्ने काममा नेपाली कांग्रेस लागेको छ ।,’’ उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘‘पछिल्ला दिनमा नेकपा (एमाले)का विरुद्ध, विशेष गरी हाम्रो पार्टीका श्रद्धेय अध्यक्षका विरुद्ध प्रायोजित, पूर्वाग्रही, तथ्यहीन, गलत, भ्रामक, प्रतिशोधपूर्ण, आधारहीन लाञ्छनाहरूको प्रचार गरिरहेका छन् । सबैभन्दा पहिला नेपाली कांग्रेसलाई आधारहीन, अराजनीतिक लाञ्छनाबाट पछि हट्न आग्रह गर्न चाहन्छु । नेपाली कांग्रेस यदि यस प्रकारका आफ्ना अभिव्यक्तिहरूबाट पद्धति हट्दैन भने नेकपा एमाले यस्ता अभिव्यक्तिका विरुद्धमा राजनीतिक रूपमा प्रतिवादमा उत्रिन्छ ।’’

उपाध्यक्ष पौडेलले कांग्रेसले एमाले र एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्धमा लक्षित गरेर अराजनीतिक र पूर्वाग्रही आरोप लगाइरहेको जिकिर गर्नुभयो । कांग्रेसले अध्यक्ष ओलीप्रति लगाएको आरोपमा लिखित रूपमा क्षमा याचना नमागे एमाले राजनीतिक प्रतिवादमा उत्रिने चेतावनी दिनुभयो । उहाँले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन कांग्रेस तयार नरहेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नेपाली कांग्रेसले नेकपा एमाले र नेकपा एमालेका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा टार्गेट गरेर जुन प्रकारका अराजनीतिक र पूर्वाग्रही आरोप लगाइरहेको छ, कांग्रेसले यो आरोपका प्रति लिखित रूपमा क्षमा याचना गर्नुपर्दछ । सार्वजनिक रूपमा माफी माग्नुपर्छ । अन्यथा नेपाली कांग्रेसँगको हाम्रो सम्बन्ध ठिक ढङ्गले अघि बढ्न सक्दैन । कांग्रेसले बुझोस्, नेकपा एमाले यस प्रकारका अराजनीतिक र प्रतिशोधपूर्ण आरोपहरू सुनेर बसिरहने पक्षमा छैन ।’’