• ३ असार २०८१, सोमबार

शीर्ष दल र कार्यदलको बैठक बालुवाटारमा जारी

blog

काठमाडौँ, जेठ १४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को गतिरोध अन्त्य गरी सहज रूपमा बजेट प्रस्तुत गर्ने वातावरण बनाउने गरी शीर्ष दल र कार्यदलको बैठक बालुवाटारमा सुरु गर्नु भएको छ ।  प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरूसँग छलफल सुरु गर्नुभएको हो ।

छलफलमा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल, कार्यदल संयोजकसमेत रहनुभएका  कानुनमन्त्री पदम गिरी र एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली काङ्ग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीलगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

बैठकमा नेकपा माओवादीबाट वर्षमान पुन र हितराज पाण्डे सहभागी हुनुहुन्छ भने रास्वपाबाट उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने, स्वर्णिम वाग्ले लगायतका नेताहरु सहभागी हुनुहुन्छ । 

भोलि (जेठ १५ गते) सङ्घीय संसदमार्फत् आर्थिक वर्ष २०८१–८२ को बजेट सार्वजनिक गर्नुपर्ने भएकाले प्रधानमन्त्री प्रचण्डले सहमतिको प्रयास जारी राख्नुभएको  प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।