• ३ असार २०८१, सोमबार

१७ औं गणतन्त्र दिवस विशेष

‘युग सुहाउँदो समाजवादको मोडल विकास गर्नुपर्छ’

blog

काठमाडौँ, जेठ १४ गते । पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले युग सुहाउँदो नयाँ समाजवादको मोडल विकास गर्नुपर्ने बताउनुभएको छ । 

गणतन्त्र दिवसको सन्दर्भमा गोरखापत्रसँग कुरा गर्नुहुँदै उहाँले एक, दुई दशकभित्र देशलाई गरिबी, दुष्चक्रबाट निकाल्नुपर्ने भन्नुहुँदै कुनै पूर्वाग्रह नराखी इतिहासको निर्मम समीक्षा एवम् विगतको उपलब्धिको रक्षा गर्दै नेपाललाई नयाँ ढङ्गले अघि लग्ने साहस गर्नुपर्ने बताउनुभयो । 

डा. भट्टराईले भन्नुभयो, “एउटा समुन्नत समाजवाद जो लोकतन्त्रमा मूल्य, मान्यतामा आधारित समाजवाद, समावेशी र सहभागितामूलक लोकतन्त्रको चरित्र हुन्छ, सङ्घीयता पूर्णतया कार्यान्वयन हुन्छ । एक, दुई दशकभित्र देशलाई गरिबीको दुष्चक्रबाट निकालेर, इतिहासको निर्मम समीक्षा गरेर, कुनै पूर्वाग्रह नराखेर विगतको उपलब्धिको रक्षा गर्दै नेपाललाई नयाँ ढङ्गले लाने साहस गर्नुपर्छ ।”

यो व्यवस्थामा सामाजिक, आर्थिक, सांस्कृतिक लगायतका क्षेत्रमा के के परिवर्तन ल्यायो भन्ने जिज्ञासामा उहाँले संविधानको अन्तर्वस्तु केलाएर हेर्ने हो भने निकै महत्त्वपूर्ण उपलब्धि भएको भनाइ राख्नुभयो । उहाँले माओवादी आन्दोलनमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्नुहुँदै पछिको समयमा त्यो शक्ति क्षीण भएको बताउनुभयो ।

नेपालको स्थिति सुहाउँदो एउटा नयाँ समाजवादको मोडल विकास गरेर पार्टीलाई समग्र रूपान्तरण गरेर समाजवादी आन्दोलन लानुपर्छ । त्यसो गरियो भने आर्थिक विकास र समृद्धि छिटो ल्याउन सकिन्छ ।

उहाँले भन्नुभयो, “नेपालमा क्रान्ति चाहिँ माओवादी शक्तिले गर्‍यो । पछि त्यो शक्ति क्षीण हुँदै गएर सत्तामा पुराना यथास्थितिवादी शक्तिहरू थिए, ती हाबी हुन पुगे । त्यसकारणले लेखिए अनुसारको कानुनहरू कार्यान्वयन हुन सकेन । मेरो विश्लेषण हो माओवादी आन्दोलनको मुख्य नेतृत्व स्खलित हुँदै गयो र दरोसँग टेक्नुभन्दा पनि जसरी पनि सम्झौता गरेर सत्तामा टिकिराख्ने भनेर मूल नेतृत्व गयो । त्यो कारणले गर्दा माओवादी शक्ति कमजोर हुन पुग्यो ।”

उहाँले संविधानमा लेखिएका जनताका विकास, समृद्धि एवम् प्रगतिशील कुरा व्यवहारमा अझै कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “शान्ति प्रक्रियाका बाँकी काम हुन सकेको छैन । बेपत्ता, मेलमिलाप आयोगका कामहरू पूरा हुन सकिरहेका छैनन् ।

सहिद, बेपत्ताका समस्या अहिले पनि यथावत् छन्, त्यो कारणले माओवादी पार्टीभित्रको ठुलो शक्ति पनि यो परिवर्तनसँग दरोसँग उभिन उसलाई पनि सकिरहेको छैन । त्यसैले माओवादी आन्दोलन एउटा महान आन्दोलन थियो त्यसले नै नेपाली इतिहासमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको नयाँ युग ल्यायो तर, अगाडि जान जटिल राजनीति छ । २१ औँ शताब्दी सँगसँगै जुन चौथो औद्योगिक क्रान्ति भनेर संसारमा एउटा नयाँ तरङ्ग ल्याइराखेको अवस्था थियो । यस्तो अवस्थामा हिजो माओवादी भाष्यलाई नै समातेर बस्नुभन्दा त्यसलाई समयमै विकास गर्नुपर्छ ।

नेपालको स्थिति सुहाउँदो एउटा नयाँ समाजवादको मोडल विकास गरेर पार्टीलाई समग्र रूपान्तरण गरेर समाजवादी आन्दोलन लानुपर्छ । त्यसो गरियो भने आर्थिक विकास र समृद्धि छिटो ल्याउन सकिन्छ । उही पुरानै नारा भट्ट्याएर बस्ने, व्यवहारमा चाहिँ हामी फेरि कमजोर हुँदै जाने हो भने संविधानलाई ठिक ढङ्गले कार्यान्वयन  गर्न सकेनौँ भन्ने सोचका साथ पनि एउटा नयाँ वैकल्पिक शक्ति बनाएर जानुपर्छ ।” अध्यक्ष डा. बाबुराम भट्टराईसँग गरिएको संवादः

भिडियोमाः  मनोजरत्न शाही र केशब गुरुङ 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।