• ३ असार २०८१, सोमबार

हिमाली सिमास्तम्भको अनुगमनमा सशस्त्र प्रहरी

blog

४ नम्बर सिमास्तम्भको अनुगमनमा पुगेको सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरू । तस्बिर सौजन्य: सशस्त्र प्रहरी

राजन रावत

हुम्ला, जेठ १४ गते । नेपाल चीनको सिमाना हिल्सामा स्थापना भएको सशस्त्र प्रहरीको सीमा सुरक्षा चौकीको प्रहरीले ( बिओपी ) पाँच हजार मिटर अग्ला दुई वटा सिमास्तम्भहरुको अनुगमन गर्न सफल भएको छ । सिमास्तम्भहरुको नियमित अनुगमन कार्य अन्तर्गत बिओपीले एउटा सीमा स्तम्भमा एघारदेखि बाह्र घण्टा पैदल हिँडेर अनुगमन गर्ने कार्य गरेको हो । 

सशस्त्र प्रहरीको ४४ नम्बर गुल्म सिमकोटका सशस्त्र प्रहरी नायव उपरीक्षक गुन्जन प्रताम मल्लले यस वर्ष पाँच हजार मिटर अग्ला दुई वटा सिमास्तम्भहरु बिओपी अनुगमन गर्न सफल भएको बताउनुभयो । यी सिमास्तम्भहरुलाई मौसम तथा  उच्च क्षेत्रमा रहेको कारण जतिखेर पनि सुरक्षाकर्मीहरूलाई अनुगमन गर्न सम्भव छैन । उहाँले हालै मात्र सीमा सुरक्षा प्रहरी हिल्साका सुरक्षाकर्मीहरूले अनुगमन गरेका सीमा स्तम्भहरूमा टाकुलेमा रहेको पाँच हजार १४ मिटर अग्लो  ११ नम्बर र पाँच हजार ७० मिटर अग्लो ४ नम्बर रहेको बताउनुभयो । यी दुवै सिम स्तम्भमा सात सात जना सशस्त्र प्रहरीको टोली पुगेको थियो । 

यसको नेतृत्वमा सीमा सुरक्षा चौकी हिल्साका सशस्त्र प्रहरी निरीक्षक प्रमोद विष्टले गर्नु भएको थियो । यी सिमास्तम्भहरुको अनुगमन गर्न सुरक्षाकर्मी बिहान साँढे छ बजे चौकीबाट हिँडेर गई बेलुका साँढे छ बजे चौकीमा फिर्ता हुन सफल भएको थियो । हिल्साको चौकीबाट सिधै उकालो हिँड्नु पर्ने भएको कारण सुरक्षाकर्मीलाई निक्कै कठिन हुने गरेको छ । 

सशस्त्र प्रहरी हिल्साका प्रहरी निरीक्षक विष्टले तर पनि वर्षमा कम्तीमा एक पटक जानै पर्ने भएको कारण यस वर्ष जेठ पहिलो हप्ता मै अनुगमन कार्य भएको बताउनुभयो । उहाँले खाना समेत हिल्सा मै तयार पारेर बोकेर लिने र दिउसो खानु पर्ने बताउनुभयो । केही स्वास्थ्य कमजोर भएका सुरक्षाकर्मीहरूले भने उच्च क्षेत्रमा सिमास्तम्भहरुको अनुगमन गर्न जान सक्ने अवस्था रहेको छैन । 

दुई सिमास्तम्भको अवस्था राम्रो रहेको बताउँदै उहाँले अक्सिजन कमीको कारण सुरक्षाकर्मीहरूलाई समस्या हुने गरेको बताउनुभयो । उहाँले यस वर्ष अब असोज महिनामा दोस्रो पटक जाने योजना रहेको बताउनुभयो । चीनसँगको सिमानामा पर्ने सिमास्तम्भहरु मध्य अव तीन र बाह्र नम्बरको सिमास्तम्भको  मात्र अनुगमन गर्न बाँकी रहेको छ । ती पनि चाँडै अनुगमन हुने सशस्त्र प्रहरीले जनाएको छ ।