• ३ असार २०८१, सोमबार

पत्रकारले आलोचना र खबरदारी गर्नुपर्छ : मुख्यमन्त्री जम्कट्टेल

blog

कृष्ण सेन इच्छुकको २२ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल। तस्बिर : अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, जेठ १३ गते। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सरकारलाई पत्रकारले आलोचना र खबरदारी गर्नुपर्ने बताउनुभएको छ। प्रेस सेन्टर नेपाल मकवानपुरको आयोजनामा आइतबार हेटौँडामा कृष्ण सेन इच्छुकको २२ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार र सञ्चारमाध्यमले गलत कुरालाई गलत भन्नुपर्ने बताउनुभएको छ।

‘‘सरकारको कमजोरी भए सच्याउनुपर्छ, हामीले आलोचना पनि स्विकार्नुपर्छ’’, मुख्यमन्त्रीले भन्नुभयो।कृष्ण सेन, रुद्र पाख्रिनको आस्था, विचार र जीवनशैलीलाई पछ्याउनुपर्ने धारणा राख्दै सञ्चार क्षेत्रमा बनाइएको नीति कार्यान्वयन गर्ने क्रममा तलमाथि भएको उहाँले स्वीकार गर्नुभयो।

सञ्चार क्षेत्र सम्बन्धी नीति, कानुन, नियमावली र नियम प्रदेश सरकारले बनाएको भन्दै कार्यान्वयनमा देखिएका समस्या समाधान गर्दै कार्यान्वयन गरिने उहाँको भनाइ छ।

कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले कृष्ण सेन र रुद्र पाख्रिनको सपना अझै पनि पुरा नभएकाले त्यो सपना पुरा गर्ने अभियानमा सबै लाग्नुपर्ने बताउनुभयो।

सहिद कृष्ण सेन इच्छुकको २२ औँ स्मृति दिवसको अवसरमा पत्रकारलाई सम्मान र पुरस्कार समर्पण पनि गरिएको थियो।कार्यक्रममा अग्रज पत्रकार महेन्द्र श्रेष्ठ, सम्झना कार्की, राममणि दाहाल, रामकुमार एलन, भानुभक्त आचार्य, कृष्णराम परियार, सुवर्णलाल श्रेष्ठ, कलमचन्द्र सुमन र मोहनमान सागामीलाई माला र सम्मान पत्रले सम्मान गरिएको थियो।

कार्यक्रममा रुद्रसेन स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रताप विष्टलाई, रुद्रसेन स्मृति पत्रकारिता पुरस्कार नवराज शर्मा तिमल्सिनालाई र कौशल पाण्डे जनपक्षीय राष्ट्रिय पत्रकारिता पुरस्कार महेश्वर दाहाललाई प्रदान गरिएको थियो।साथै, क्रियाशील पत्रकारिता पुरस्कारबाट राजन दाहाल, एमपी शर्मा, सुवास बिडारी, सरला अधिकारी, बालकृष्ण दाहाल र प्रतीक्षा न्यौपानेलाई पुरस्कृत गरिएको थियो।त्यस्तै, ग्रामीण पत्रकारिता पुरस्कार शिवकुमार काशी, उमेश राई, शम्भु अधिकारी र विवेक सिन्तानलाई प्रदान गरिएको थियो।सुत्केरी प्रोत्साहन बापत जनही नगद पाँच हजार रुपैयाँ पत्रकार रञ्जिता डंगोल, रूपा गुरुङ र मनिता दानीलाई प्रदान गरिएको थियो।

प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष अञ्जली थापाको सभाध्यक्षतामा भएको कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष एवं केन्द्रीय इन्चार्ज महेश्वर दाहाल उपस्थित हुनुहुन्थ्यो।