• ३ असार २०८१, सोमबार

प्रधानमन्त्रीद्वारा नीति तथा कार्यक्रम प्रस्ताव छलफलका लागि पेश

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । फाइल तस्विर

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आ.व. २०८१÷८२ को नीति तथा कार्यक्रम माथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेश गर्नुभएको छ । 

आज बसेको बैठकमा सभामुख देवराज घिमिरेको आग्रहपछि प्रधानमन्त्री प्रचण्डले सो प्रस्ताव पेश गर्नुभएको हो । प्रस्तावमाथि जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले छलफलमा भाग लिनुभयो । उहाँले नीति तथा कार्यक्रमको आफ्नो दलले विरोध गर्ने बताउनुभयो ।

त्यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले छलफलमा भाग लिंदै मानिसले मानिसलाई शोषण गर्न नपाइने व्यवस्था थप्न माग गर्नुभयो । बोल्ने स्वतन्त्रता सबैलाई भएकाले धारणा राख्नबाट कसैलाई वञ्चित गर्न नहुने उहाँले सुझाव दिनुभयो ।

भ्रष्टाचार र मानवअधिकार उल्लङ्घन गर्नेलाई मृत्युदण्ड दिनेगरी संविधान संशोधन गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । नेपालीले विदेशमा सम्पत्ति राख्न नपाइने व्यवस्था गरिनुपर्ने उहाँले सुझाव दिनुभयो । सरकारी सञ्चार माध्यमलाई सरकारको मुखपत्र बनाउन नहुने उहाँले सुझाव दिनुभयो ।