• ३ असार २०८१, सोमबार

सगरमाथामा पूर्णिमाको नयाँ कीर्तिमान, एकै सिजनमा तीन पटक शिखरमा

blog

पूर्णिमा श्रेष्ठ

काठमाडौँ, जेठ १३ गते । फोटो पत्रकार तथा पर्वतारोही पूर्णिमा श्रेष्ठले एकै सिजनमा तीन पटक सर्वोच्च शिखर सगरमाथा चढेर महिला पर्वतारोहीतर्फ नयाँ कीर्तिमान बनाउनुभएको छ । 

आरोहण एजेन्सी एट के एक्सपिडिसनका अनुसार उहाँले शनिबार बिहान ५ बजेर ५० मिनेटमा तेस्रो पटक सगरमाथाको आरोहण गर्नुभएको हो । एट के एक्सपिडिसनका व्यवस्थापक योगेन्द्र तामाङले भन्नुभयो, “सगरमाथा आरोहणका हिसाबले चौथो पटक चुचुरोमा पुग्नुभएकी श्रेष्ठले यो सिजनमा १३ दिनभित्र तीन पटक सगरमाथाको आरोहणको कीर्तिमान बनाउनुभएको छ । उहाँले यसअघि भारतीय महिलाले एकै सिजनमा दुई पटक चुचुरोमा पुगेको रेकर्डलाई तोड्नुभएको हो ।” वैशाख ३० गते सहयोगी फुरा टेम्बा शेर्पासहित पहिलो आरोहण गर्नुभएकी उहाँ जेठ ६ गते सहयोगी पासाङ शेर्पासहित दोस्रो पटक चुचुरोमा पुग्नुभएको उहाँले बताउनुभयो । त्यस्तै तेस्रो पटक सहयोगी कर्मा ग्याल्जी शेर्पासहित उहाँ चुचुरोमा पुग्नुभएको हो ।

गोरखा आरुघाट गाउँपालिका–१० की श्रेष्ठले विश्वका दर्जनौँ हिमशिखर आरोहण गरिसक्नुभएको छ । उहाँले विसं २०७५ मा पहिलो पटक सगरमाथा आरोहण गर्नुभएको थियो ।

विश्वका आठ हजार मिटरभन्दा माथिका १४ वटा हिमाल आरोहण अभियानमा रहेकी उहाँले गत वर्षको साउनमा पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो के–टु हिमालको आरोहण गर्नुभएको थियो । के–टु आरोहण गर्ने उहाँ चौथो नेपाली पर्वतारोही हुनुहुन्छ । उहाँले नेपालमा रहेका आठ हजार मिटर उचाइका सात वटा हिमाल आरोहण गरिसक्नुभएको छ । विसं २०७४ देखि आरोहण सुरु गर्नुभएकी उहाँले दुई पटक मनासलु र अन्नपूर्ण, धौलागिरि, कञ्चनजङ्घा, ल्होत्से तथा मकालुको एक एक पटक आरोहण गरिसक्नुभएको छ । उहाँ अन्नपूर्ण र धौलागिरि आरोहण गर्ने पहिलो नेपाली महिलासमेत हुनुहुन्छ ।

विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालमध्ये नेपालमा आठ वटा छन् । तीमध्ये श्रेष्ठले चोयु हिमाल मात्र चढ्न बाँकी छ । भौगोलिक जटिलता र विविध कारणले नेपालबाट आरोहण नखुलाइएको चोयु तिब्बततर्फबाट चढ्नु पर्छ । यसअघि विसं २०६० सालमा पहिलो पत्रकारको रूपमा आङ छिरिङ शेर्पा सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो ।

गत बिहीबार गोरखाकै फुन्जो झाङ्मु लामाले सबैभन्दा छिटो सगरमाथा चढेर महिला पर्वतारोहीतर्फ नयाँ कीर्तिमान बनाउनुभएको थियो । उहाँले सगरमाथा आधार शिविरबाट १४ घण्टा ३१ मिनेटमा चुचुरोमा पुगेर कीर्तिमान बनाउनुभएको हो । जारी सिजनमा आरोही दावा फिन्जोक शेर्पाले (सबैभन्दा छोटो समय) आठ दिनभित्रै तीन पटक सगरमाथा आरोहण गरेर पुरुषतर्फको कीर्तिमान राख्नुभएको छ । सेभेन समिट ट्रेक्समार्फत सहयोगी शेर्पाका रूपमा आरोहणमा जानुभएका उहाँले आठ दिन १३ घण्टा ३५ मिनेटमा तीन पटक सगरमाथा आरोहण गर्नुभएको हो । यस सिजनमा उहाँले पहिलो पटक वैशाख ३० गते, दोस्रो पटक जेठ ४ गते र तेस्रो पटक ७ गते सगरमाथा आरोहण गर्नुभएको सेभेन समिटको दाबी छ ।