• ३ असार २०८१, सोमबार

खोला किनारमा अवैध उत्खनन्

blog

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ७ नम्बर वडा स्थित सुनसरी खोलामा भएको अवैध उत्खनन् । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव
इनरुवा, जेठ १२ गते ।
सुनसरीको भोक्राहा नरसिंह र हरिनगर गाउँपालिका तथा इनरुवा नगरपालिकामा अवैध रुपमा सुनसरी खोला उत्खनन् गर्ने काम भइरहेको स्थानीयहरुले गुनासो गरेका छन् ।

जिल्लामा वर्षेनी बाढीको चपेटामा रहेका नागरिकहरुलाई दुःख दिने नियतले जनप्रतिनिधिदेखि ठेक्केदार र माटो तस्कारसम्मको मिलिभगतमा स्काभेटर, टयाक्टर र टिपरसहितको प्रयोग गरी अवैध रुपमा सुनसरी खोला उत्खनन् गर्ने काम भइरहेको स्थानीयहरुले बताएका छन् ।

यो वर्ष पटक–पटक नेपाल प्रहरीले केहीको ट्याक्टर र टिपर नियन्त्रणमा लिएको भएपनि कारवाही नहुँदा इनरुवा नगरपालिका–९ स्थित बबिया, भोक्राहा नरसिंह गाउँपालिका ५ र ७ टपरा तथा चित्रगुप्त आधारभूत विद्यालय छेउँ र हरिनगर गाउँपालिका १ को भुटाहासहित दर्जन बढी स्थानबाट अवैध रुपमा सुनसरी खोला उत्खनन् गर्ने काम जारी रहेको स्थानीय पप्पु यादवले गुनासो गर्नुभयो ।

यादवका अनुसार सुनसरी खोलाबाट अवैध रुपमा उत्खनन् गरिरहेको बेला कहिलेकारी प्रहरीले नियन्त्रणमा लिएर फेरी दबाबपछि छाड्ने गरेकोले खोला दोहन बढेको हो ।

केही महिना अघि इनरुवा ९ बबियाका हविब मंसुरीले अवैध रुपमा खोला कटान गरेको गुनासो पनि भोक्राहा नरसिंह गाउँपालिकाले प्रहरीको सहयोगमा स्काभेटर र टिपर नियन्त्रणमा लिएपनिपछि माटो नकाट्ने सर्तमा छाडिएको थियो ।

तत्कालीन अवस्थामा स्थानीयले खोला उत्खनन् भइरहेको सूचना भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादलाई दिएको र उहाँले प्रहरीलाई बोलाई स्काभेटर र टिपर नियन्त्रणमा लिएरपछि आईन्दा थप माटो नकाट्ने सर्तमा छाडिदिनुभएको थियो ।

सो घटना सेलाउन नपाउदै अवैध रुपमा सुनसरी खोला किनारमा उत्खनन गरी ५ देखि १० मिटरसम्म गहिरो बनाएको स्थानीय पत्रकार रविन्द्र यादवले बताउनुभयो । सुनसरी खोला किनारमा माटो उत्खनन् गर्ने गरेको उहाँको भनाइ छ ।

यसैबिच भोक्राहा नरसिंह गाउँपालिका ७ नम्बर वडा अध्यक्ष बौवालाल यादवले खोलामा केही मात्रामा माटो काट्ने काम भएको गुनासो आफू कहाँ आएको तर आफूले नदेखेको प्रतिकृया दिनुहुँदै स्थानीय चित्रगुप्त आधारभुत विद्यालयको ५०० मिटर टाढाबाट बाटोमा माटो पुर्न काट्न भनेको दाबी गर्नुभयो । खोलामा दोहन गर्ने र अवैध उत्खननका लागि नभई आवश्यक कामका लागि केही माटो काटेको हुन सक्ने प्रतिकृया दिनुभयो ।