• ३ असार २०८१, सोमबार

सत्ता समीकरणले २०८४ सम्मै निरन्तरता पाउँछ : महासचिव पोखरेल

blog

अधिवेशनलाई सम्बोधन गर्नुहुँदै एमाले महासचिव शंकर पोखरेल। तस्बिर : रेखीराम राना

रेखीराम राना

तानसेन, जेठ ११ गते। नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले अहिलेको सत्ता समीकरणले आगामी २०८४ सम्म निरन्तरता पाउने बताउनुभएको छ। शुक्रबारदेखि तानसेनमा सुरु भएको नेकपा (एमाले) पाल्पाको दशौँ जिल्ला अधिवेशनमा धारणा राख्नुहुँदै उहाँले वर्तमान सत्ता समीकरणले आगामी चुनावसम्मै निरन्तरता पाउने बताउनुभयो। 

मुलुकमा देखिएको अस्थिरता र अनिश्चितता हटाउन वर्तमान समीकरण बनेको उहाँले उल्लेख गर्नुभयो। कम्युनिस्ट पार्टीका बीचमा तत्काल पार्टी एकता गर्ने पक्षमा आफू नरहेको बताउनुहुँदै उहाँले नीति र कार्यक्रम अनुसार सहकार्य हुने बताउनुभयो।

उहाँले अहिले सत्ता परिवर्तन गरिरहने प्रवृत्तिले मुलुकमा निरासा छाएको उल्लेख गर्नुहुँदै आर्थिक सङ्कट र निरासा हटाउन एमालेले पहल लिएको जानकारी दिनुभयो। अहिले बनेको समीकरणलाई बालियो राष्ट्रिय शक्ति बनाउने उद्देश्यले अघि बढेको पनि महासचिव पोखरेलले बताउनुभयो। 

देशलाई सही बाटोमा डोर्याउने जिम्मेवारी एमालेले मात्रै पूरा गर्नसक्ने दाबी गर्दै महासचिव पोखरेलले स्वतन्त्र र राजावादीले व्यवस्थामाथि उठाएको प्रश्नको जवाफ हालै सम्पन्न भएको उपनिर्वाचनले दिएको बताउनुभयो। अहिले पनि मुलुकका सामु अनेकौ चुनौतीहरू रहेको बताउँदै उहाँले राजनीतिक अस्थिरता र अराजकताले देशको विकास हुन नसकेको बताउनुभयो। 

महासचिव पोखरेलले समाजमा जो सबैभन्दा धेरै अराजक छ त्यसकापछि मानिस भेला हुने परिपाटीले देशको विकास हुन नसक्ने जिकिर गर्नुभयो। कथित स्वतन्त्र, ज्ञानेन्द्र शाही, दुर्गा प्रसाईंकोपछि लागेको भीडले अराजकता मात्रै ल्याउने महासचिव पोखरेलले दाबी गर्नुभयो।

कार्यक्रममा एमाले केन्द्रीय सचिव पदमा अर्यालले सहकारीको रकम हिनामिनाबारे संस्थागत छानबिन गर्नुपर्ने बताउनुभयो। उहाँले व्यक्तिलाई मात्र केन्द्रमा राखेर गरिने छानबिनले समग्र सहकारीको समस्या पहिचान हुन नसक्ने दाबी गर्नुभयो। 

तानसेनमा जारी अधिवेशनमा जिल्लाभरबाट ४५० बढी प्रतिनिधि सहभागी भएका छन्। अधिवेशनमा जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। उक्त प्रतिवेदनमाथि सामूहिक छलफल गरेर पारित गरिने एमाले नेताले जनाएका छन्। 

जिल्ला अध्यक्षका लागि वर्तमान सचिव भोजराज पोखरेल (रामजी) र पूर्व सचिव ओमबहादुर घर्तीले दाबी गर्नुभएको छ। नेताहरूले सहमतिका आधारमा नेतृत्व चयन गर्ने जनाएका छन्।