• ३ असार २०८१, सोमबार

मिक्लाजुङमा ५३ फिट अग्लो बुद्धको मूर्ति

blog

नेपालकै ठुलो र अग्लो भनिएको बुद्धको मुर्ति । तस्बिर : राधा लुइटेल

राधा लुइटेल 

फिदिम, जेठ ११ गते । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा तीन करोड लगानीमा ५३ फिट अग्लो बुद्धको मूर्ति निर्माण गरिएको छ । कोशी प्रदेश सरकारको लगानीमा मिक्लाजुङ ४ जरिबुटे डाँडामा अग्लो बुद्ध मूर्ति निर्माण भएको हो । 

मूर्ति धातुबाट निर्माण गरिएको छ । मूर्ति निर्माणका लागि १७ टन पितलको धातु प्रयोग भएको बताइएको छ । कोशी प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री रहनुभएको प्रदेश सभा सांसद इन्द्रबहादुर आङबो (मौसम)ले यो मूर्ति नेपालकै सबै भन्दा अग्लो र ठुलो भएको दाबी गर्नुभयो ।

मूर्ति निर्माणका लागि सरकारले २०७६ सालमा बोलपत्र आह्वान गरी सम्झौता पश्चात काम सुरु गरेको थियो । २०७९ साल माघ ३० गते निर्माण कार्य सम्पन्न भएको मूर्तिको अनुहार माओवादी नेता अग्नीप्रसाद सापकोटाको जस्तै बनेकाले सच्याउन माग भएपछि पुनः सुधार गरेर ढिलाे गरी उद्घाटन गरिएको छ ।

गाउँपालिकाले जरिबुटे डाँडामा बुद्धको मूर्तिसहितका संरचना बनाएर पर्यटन प्रवर्धन गर्ने योजना बनाएसँगै यहाँ यत्तिको ठुलो र अग्लो मूर्ति निर्माण गरिएको गाउँपालिका अध्यक्ष अमरराज माखिमले बताउनुभयो । मूर्ति निर्माणको काम काठमाडौको स्कर्लभर्चज प्रा.लि.ले जिम्मा लिएको थियो । 

जरिबुटे क्षेत्र सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि प्रख्यात छ । जरिबुटे डाँडो वनस्पतिक तथा जैविक विविधताका दृष्टिले पनि महत्वपूर्ण छ । मूर्ति बुद्ध जयन्तीको अवसर पारेर शुक्रबार उद्घाटन गरिएको हो ।