• ३ असार २०८१, सोमबार

उपाध्यायलाई सञ्चार गृह पत्रकारिता सम्मान

blog

पश्चिम टुडे दैनिकका प्रधान सम्पादक दीर्घराज उपाध्याय सम्मानित हुँदै ।

गोरखापत्र समाचारदाता

धनगढी, जेठ ११ गते। नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिले पश्चिम टुडे दैनिकका प्रधान सम्पादक दीर्घराज उपाध्यायलाई सञ्चार गृह पत्रकारिता सम्मान प्रदान गरेको छ ।

पत्रकार उपाध्यायलाई सुदूर पश्चिमको पत्रकारिताको विकासका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि निर्वाह गरेको योगदानको कदर गर्दै नेपाल पत्रकार महासङ्घ सुदूर पश्चिम प्रदेश समितिले शुक्रवार धनगढीमा आफ्नो तेस्रो अधिबेशन तथा चौथौ साधारण सभामा सो सम्मान गरेको हो । सूदुरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पत्रकार उपाध्यायलाई कदरपत्र र दोसल्लासहित सम्मान गर्नुभयो ।

प्रतिकूल आर्थिक अवस्थाका बाबजुद रङ्गिन दैनिक पत्रिका, एफएम रेडियो र अनलाइन सञ्चालन गरेर सुदूरपश्चिममा व्यावसायिक पत्रकारिताको विकासका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न यहाँले निर्वाह गर्नुभएको योगदानको सम्मान गर्दै, नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिको २०८१ जेठ ११ गते धनगढीमा आयोजित तेस्रो अधिवेशन तथा चौथो साधारण सभाको अवसरमा यो सञ्चार गृह पत्रकारिता सम्मान अर्पण गरिएको छ, मुख्यमन्त्री दीर्घ सोडारी, महासंघका अध्यक्ष योगेश रावल र महासचिव रामसिंह ठगुन्नाद्वारा हस्ताक्षरित सम्मानपत्रमा उल्लेख छ । 

अढाइ दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय उपाध्यायको नेतृत्वमा सुदूरपश्चिमको एक मात्र ब्रोडसीट रङ्गिन दैनिक पत्रिका पश्चिम टुडे , एक हजार वाट क्षमताको रेडियो पश्चिम टुडे र पश्चिम टुडे अनलाइन न्यूज पोर्टल सञ्चालनमा छ ।

उपाध्याय नेपाल पत्रकार महासङ्घ कैलाली र सामुदायिक रेडियो प्रसारक सुदूरपश्चिम प्रदेश समितिका पूर्व अध्यक्षसमेत हुनुहुन्छ । नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम समितिले साधारण सभामा पत्रकार सिद्धराज भट्ट, पत्रकार अर्जुन शाह, राजेन्द्रनाथ, निमेन्द्र शाही, हेमन्ती चौधरी, कर्ण शाह र सुदूरपश्चिमका सर्वाधिक रक्तदाता पत्रकार दीपक उपाध्यायलाई समेत सम्मानित गरेको छ ।