• २ असार २०८१, आइतबार

पाठ्यक्रम कार्यान्वयन गर्न सुझाव

blog

हुम्ला समाचादाता

हुम्ला, जेठ ११ गते । ताँजाकोट गाउँपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रमको सम्बन्धमा सरोकारवाला पक्षसँग राय सुझाव सङ्कलन गरिएको छ । स्थानीय पाठ्यक्रमको सफल र प्रभावकारी कार्यान्वयनका लागि गाउँपालिकाले सुझाव सङ्कलन गरेको हो । गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले एक वर्षअगाडिदेखि तयार गरी विद्यालयमा लागु गरेको स्थानीय पाठ्यक्रमको कार्यान्वयनको समीक्षा गर्न कार्यक्रमको आयोजना गरेको थियो । 

गाउँपालिकाका शिक्षा शाखाका प्रमुख जयरुद्ध ढकालले सरोकारवाला पक्ष सबैसँग राय, सल्लाह र सुझावसमेत सङ्कलन गरिएको र त्यसैका आधारमा अब विद्यालयमा स्थानीय पाठ्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताउनुभयो । सो अवसरमा स्थानीय पाठ्यक्रमका लागि विषय शिक्षकले हालसम्म पठनपाठन गर्ने तरिका, विषय, खोजीनिती, अभ्यासका बारेमा जानकारी गराएका थिए । 

शिक्षक सिकाइ, मूल्याङ्कनमाथि पनि राय सुझाव आएको उहाँले बताउनुभयो । पाठ्यक्रममा समावेश गरिएका निश्चित विषयवस्तुमाथि सहभागीलाई समूह विभाजन गरेर पठनपाठन गर्दा समेट्नुपर्ने विषयको सूची तयार पारेर प्रस्तुति गरिएको थियो । उहाँले समग्रमा स्थानीय पाठ्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको भए पनि केही विद्यालयमा भने अझै सुधार गर्नुपर्ने अवस्था देखिएकोले अब सुधार गरेर अगाडि बढ्ने निष्कर्षमा पुगिएको बताउनुभयो । हाललाई स्थानीय पाठ्यक्रमका लागि पाठ्यपुस्तक भने तयार छैन । अझै अभ्यासकै चरणमा स्थानीय पाठ्यक्रम कार्यान्वयन भइरहेका कारण सबै विषय समेटिएपछि मात्र पाठ्यपुस्तक तयार गरिने छ । 

एक वर्षअगाडि गाउँपालिकाले स्थानीय पाठ्यक्रम ‘हाम्रो ताँजाकोट’ तयार पारेको थियो । स्थानीय पाठ्यक्रम गाउँपालिकाका कक्षा १ देखि ८ सम्म पठनपाठन हुने १७ वटा विद्यालयमा लागु गरिएको छ । कार्यक्रममा विषय शिक्षक, गाउँ शिक्षा समितिका सदस्यहरू र वडाध्यक्षबिच आवश्यक छलफल गरिएको थियो । सिमकोट गाउँपालिका पनि स्थानीय पाठ्यक्रम तयार पारेर कार्यान्वयनको चरणमा रहेको छ भने नाम्खा गाउँपालिका तयार गर्ने अवस्थामै छ । अन्य चार वटा गाउँपालिकाले भने स्थानीय पाठ्यक्रम तयार गर्ने सुरसारै गरेका छैनन् ।