• २ असार २०८१, आइतबार

भूमेस्थानमा विधिपूर्वक पूजा आराधना गरी उभौली मनाइयो

blog

उभौली पर्व । फाइल तस्बिर

काठमाडौँ, जेठ १० गते । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइएको छ । यस समुदायका मानिसले भूमेस्थानमा पूजा आराधना गरी उभौली पर्व मनाएका छन् । 

बाली लगाउनुअघि गाउँ गाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा किराँत समुदायमा रहेको छ । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको हो । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाई छ । 

यो पर्व प्रकृति पूजक भएको यस विषयका अनुसन्धाताको भनाइ छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि रहेको किराँत समुदायको चाडपर्वका विषयमा अनुसन्धातरत समाजशास्त्री कीर्तिकुमार दुमी राईले बताउनुभयो । यस पर्वका अवसरमा चण्डी नाचसमेत नाचिन्छ । यसैकारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ । 

किराँत समुदायका पनि विभिन्न सम्प्रदायकाबिच साकेला नाच पनि नाचिन्छ । ललितपुरको सानो हात्तीवनमा रहेको साकेलास्थान जसलाई किराँत समुदायले पितृको पूजास्थलका रूपमा मान्छन् त्यहाँ समेत पुजारीले विधिपूर्वक पूजा आराधना गरिएको छ । हात्तीवनमा जम्मा भएका हजारौँ भक्तजनले चण्डी र साकेला नाचका साथमा प्रकृति र पितृको पूजा आराधना गरेको उहाँले जानकारी दिनुभयो ।  

खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका बासिन्दाले भने यो पर्व जेठ २२ गतेपछि मनाउने तयारी गरेका छन् । ऐँसेलुखर्कबासिन्दाले प्रत्येक वर्ष जेठ २२ पछि यो पर्व मनाउने परम्परा छ । किराँत समुदायमा पनि एकथरीले उभौली पर्व उत्तरायण सुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन् । उँधौली भने दक्षिणायन सुरु हुने दिन पारेर साउन १ गते मनाउने गरेको किराँत धर्मगुरु चन्द्रकुमार शर्माले बताउनुभयो । रासस