• ११ मंसिर २०८१, मङ्गलबार

दश हजार बालबालिकालाई 'आइपिभी' खोप

blog

कोकिला ढकाल

इलाम, जेठ १० गते । सरकारले सञ्चालन गर्न लागेको पोलियो रोग विरुद्धको आइपिभी खोप इलाममा यसपटक दश हजार ८८० बालबालिकालाई दिइने भएको छ । आगामी जेठ १४ गतेदेखि जेठ २१ गते सम्म खोप अभियान सञ्चालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय इलामले जनाएको छ । 

२०७३ वैशाख महिनादेखि ०७५ असोज महिना सम्म जन्मिएका बालबालिका पोलियो विरुद्धको 'आइपिभी' खोपबाट छुटेको भन्दै उक्त अवधिमा जन्मिएका बालबालिकालाई खोप दिने तयारी गरिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर गंगाधर पण्डितले बताउनुभयो । यसका लागि ९३ स्वास्थ्य संस्था, छ सय खोप केन्द्र, एक हजार तीन जना स्वयंसेवक र एक सय ७० तालिम प्राप्त स्वास्थ्य कर्मी तयारी अवस्थामा राखिएको पण्डितले बताउनुभयो ।

सन् २०२६ सम्ममा पोलियो रोग उन्मूलनको लक्ष्य लिएको नेपाल सरकारले यसपटक १४ लाख बालबालिकालाई पोलियो विरुद्धको खोप दिने तयारी गरेको छ । सन् २०१० पछि नेपालमा पोलियोका कुनै पनि बिरामी फेला नपरे पनि अन्य मुलुकहरूबाट आउजाउ गर्ने मानिसबाट रोग सर्न सक्ने खतरालाई ध्यान दिँदै यो खोप अभियान सञ्चालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख आदित्य शाक्यले बताउनुभयो ।