• २ असार २०८१, आइतबार

चुरे संरक्षणको माग गर्दै पदयात्रा, माइतीघर मण्डलामा धर्ना

blog

चुरे संरक्षणका लागि दबाब दिन चुरे संरक्षण पद यात्रा गर्दै २५ जनाको टोलीले काठमाडौँस्थित माइतीघर मण्डलामा सुरु गरेको धर्ना । तस्बिर : गोरखापत्र

काठमाडौँ, जेठ १० गते । चुरे संरक्षणका लागि दबाब दिन चुरे संरक्षण पद यात्रा गर्दै २५ जनाको टोली काठमाडौँ आइपुगेको छ । चुरे संरक्षणको माग गर्दै सप्तरी जिल्लाको भारदहदेखि वैशाख १६ गते चुरे संरक्षण पद यात्रामा निस्किएको टोली बिहीबार काठमाडौँ आइपुगेको हो ।

टोलीले काठमाडौँस्थित माइतीघर मण्डलामा धर्ना सुरु गरेको छ । चुरे तथा वनजङ्गल संरक्षण अभियान नेपालको ब्यानरमा चुरे संरक्षण लगायतका विभिन्न माग राखी २५ जनाको टोली काठमाडौँ आइपुगेको हो ।

चुरे तथा वनजङ्गल विनाशको कारणले तराई, मधेशमा नदीको मुहान सुकेर पानीको हाहाकार हुने स्थिति आएको र सिङ्गो देश नै जलवायु परिवर्तनको चपेटामा परेको भन्दै चुरे संरक्षण अभियान सुरु गरिएको जनाइएको छ ।


पदयात्रा टोलीले चुरे क्षेत्रमा अवैध उत्खनन तत्काल बन्द गर्नुपर्ने लगायतका एक दर्जनभन्दा बढी मागहरू अघि सारेका छन् । चुरे तथा वनजङ्गल संरक्षण अभियान नेपालका संयोजक सुनिल यादवले मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिनुपर्ने आफूहरूको माग रहेको बताउनुभयो । उहाँले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट राजनीतिक दलको कार्यकर्ता पाल्ने मात्र काम भएको भन्दै राष्ट्रपति चुरे संरक्षण विकास समितिलाई स्वतन्त्र बनाउनुपर्ने बताउनुभयो । उहाँले चुरे संरक्षणका लागि छुट्टै चुरे ऐन निर्माण गर्नुपर्ने पनि आफूहरूको माग रहेको स्पष्ट पार्नुभयो ।

संयोजक यादवले खुला चरिचरण बन्द गर्नुपर्ने पनि माग रहेको जानकारी दिनुभयो । त्यस्तै भूमिहीनको नाममा मासिएको वनजङ्गलको जग्गा वनमै फर्काउनुपर्ने र वास्तविक दलित, भूमिहीन तथा सुकुम्वासीहरूलाई भूमिको व्यवस्था गर्नुपर्ने पनि बताइएको छ ।


त्यस्तै चुरे क्षेत्रभित्रका नदीनालाबाट हुने अवैध निकासी तथा ढुङ्गा, गिटी, बालुवा र क्रसर उद्योगहरूलाई तत्काल बन्द गरी यस्ता कार्यमा संलग्नहरूलाई कारबाही गर्न पनि माग गरिएको छ ।

धर्नामा रहेकाहरूले आफूहरू तेस्रो पटक चुरे संरक्षणको माग गर्दै पदयात्रामा आएको बताउँदै अब पनि माग पूरा गर्न सरकार गम्भीर नबने सङ्घर्षको कार्यक्रम जारी राख्ने बताएका छन् ।