• २ असार २०८१, आइतबार

कालीगण्डकी कोरिडोरले फेरियो पर्वतको कालापानी

blog

कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको बिहादी २ बर्राचौरको सडकखण्ड । तस्बिर : गणेश पौडेल

गणेश पौडेल
पर्वत, जेठ ९ गते । 
कुनैबेला जिल्लाको कालापानीको रूपमा चिनिने जिल्लाको सुदूर दक्षिणी क्षेत्रमा अहिले सदरमुकामबाट १ घण्टामै पुग्न सकिन्छ । कोरिडोरको रानीपानी–फलेवास खण्डको कालोपत्रेको भई सडक सहज भएसँगै दक्षिणी पर्वतका नागरिकलाई सानो कामका लागि पनि तीन जिल्ला घुमेर सदरमुकाम कुस्मा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

पर्वतको बिहादी २ का खेमनारायण पराजुली अहिले बिहान गाडीमा पुगेर बेलुका गाडीमै फर्किन पाउँदा अचम्म लागेको बताउनुहुन्छ ।

‘‘सानो कामले सदरमुकाम गएर आउँदा तिन दिन लाग्थ्यो ।,’’ उहाँले भन्नुभयो, ‘‘कालीगण्डकी कोरिडोरको बाटो कालोपत्रे भएपछि अहिले १ घण्टामा पुगेर फर्किन पाउँदा अचम्म लाग्छ ।’’ पराजुलीले कालोपत्रे सडक बनेर कुस्मा पुगिएला भन्ने कल्पनामा समेत नभएको बताउनुहुन्छ ।

जिल्लाको दुर्गम कालापानीको रूपमा रहेको यो क्षेत्रको बिच भागबाट कोरिडोरको फराकिलो बाटो बनेपछि स्थानीयवासी समेत नसोचेको विकास भएको बताउँछन् । ‘‘पाङराङ, बर्राचौर, रानीपानीको फराकिलो समथर फाँटमा गाडी गुड्ने सपना जस्तो थियो । अहिले कोरिडोरले समथर फाँटको बिचभाग चिरेर गाडी हुइँकिँदा सपना जस्तो लाग्छ ।,’’ स्थानीय हरि न्यौपानेले भन्नुभयो, ‘‘हामीले सोचेको पनि थिएनौँ यसरी फराकिलो राजमार्ग बन्ला र यो ठाउँको मुहार फेरिएला भनेर ।’’

यस क्षेत्रका अधिकांश मानिसहरू सुविधाका लागि छाडेर बुटवल, नवलपरासी, चितवन लगायतका तराईका जिल्लाहरूमा गइसकेका छन् । गाउँमै भएकापनि अधिकांशको जग्गा जमिन तराईका क्षेत्रमा छ । अहिले गाउँमा कोरिडोरको सडक निर्माण भएसँगै गाउँ फर्किन थालेका छन् । ‘‘तत्कालीन जिल्ला विकास समिति र गाउँ विकास समितिको सानो रकमले खोलिएका साना सडक पनि हिउँदमा कहिलेकाहीँ गाडी चल्थे तर, सदरमुकाम पुग्न स्याङ्जा, कास्की घुम्नै पर्थ्यो ।,’’ न्यौपानेले भन्नुभयो, ‘‘कम्तीमा पाँच हजार खर्च बोकेर सदरमुकाम जानुपर्ने बाध्यता थियो । अहिले त काम सकेर बेलुका सजिलै घर पुगिन्छ ।’’

वि.सं. २०६५ देखि सुरु भएको यो सडक विस्तारले लगभग पूर्णता पाएको छ । अहिले भने बिहान हिँड्यो भने बुटवल, पाल्पा, पोखरा जहाँ गए पनि बेलुका गाउँ फर्केर आई पुगिन्छ । विहादी–६ शालिग्रामका वडा अध्यक्ष मन बहादुर बस्यालले कालीगण्डकी कोरिडोर खुलेपछि यस क्षेत्रको मुहार नै परिवर्तन भएको बताउनुभयो ।

उहाँले विगतमा हप्तौँ दिन लागेर भारी बोक्नुपर्ने, खच्चरमा सामान बोक्नुपर्ने, डोकोमा बिरामी बोकेर अस्पताल पुर्‍याउनुपर्ने जस्ता समस्या हटेर गएको बताउनुभयो । विगतको अवस्था हेर्दा अहिले स्वर्गजस्तै लाग्ने गरेको उहाँको अनुभव छ । ‘‘पहिला सदरमुकाम जान समेत निकै गाह्रो थियो, अहिले बुटवल, पोखरा, कुस्मा जहाँ पुगेपनि बेलुका फर्किन सकिन्छ ।,’’ उहाँले भन्नुभयो ।

कोरिडोर खुलेपछि आसपासमा पक्की घर निर्माण भएका छन् भने बाच्छा, कर्नास, बरौचौर, रानीपानी, फलेवासलगायतका ठाउँमा बजारसमेत विस्तार भएका छन् । ‘‘पहिले लत्ताकपडा, खाद्यान्न, नुन, मट्टितेल, चिनीलगायत घरायसी सामान चाहिए पैदलै हिँडेर बटौली जानपर्थ्यो, अहिले भने जे खोज्यो त्यही दैलोमै ल्याएर गाडिले झार्दिन्छ’’, बाच्छा स्थानीय भीमबहादुर खड्काले भन्नुभयो, ‘‘अहिले धेरै सुविधा भएको छ ।’’

कालीगण्डकी कोरिडोरको पर्वत खण्डमा पर्ने ५३ किलोमिटरमध्ये रानीपानीदेखि फलेवास ढिकसम्मको २५ किलोमिटर कालोपत्र भइसकेको छ । लमाए खोलामा पुल निर्माण हुन नसक्दा दुबैतर्फ कालोपत्रे भए पनि सडक सञ्चालन हुन सकेको छैन । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वत खण्डको भौतिक प्रगति ७५ प्रतिशत छ । स्याङ्जाको मिर्मिदेखि पर्वतको सेतीवेणीसम्मको १० किलोमिटर सडक भौगोलिक अवस्थाका कारण निर्माणमा ढिलाइ भइरहेको छ । निर्माण कम्पनीले भुक्तानी नपाएको भन्दै काम नगरेकाले तीव्ररुपमा काम हुन नसकेको कालीगण्डकी कोरिडोर आयोजना कार्यालयले जनाएको छ ।

कालीगण्डकी कोरिडोर आयोजना गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डका आयोजना प्रमुख शङ्कर पौडेलका मिर्मि सेतीवेणी खण्डको रकम भुक्तानी भएपछि निर्माण सुरु गर्ने भन्दै निर्माण कम्पनीले काम नगर्दा समस्या भएको जानकारी दिनुभयो । उहाँले लमाए खोलाको पुल निर्माण तीव्र भएकाले केही महिनामै पुल सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको बताउनुभयो । फलेवास ढिकदेखि मालढुङ्गा सडक खण्डको कामका लागि टेण्डर भइसकेकाले उक्त सडकखण्डको कामले समेत गति लिने पौडेलको भनाइ छ ।