• ११ असोज २०८१, शुक्रबार

दीर्घरोगी आयुर्वेद उपचारतिर आकर्षित

blog

धनगढी समाचारदाता

धनगढी, जेठ ९ गते । लामो समयदेखि स्वास्थ्य समस्याबाट ग्रसित दीर्घरोगी आयुर्वेदिक उपचार रोज्न थालेका छन् । आयुर्वेदिक औषधीको असर (साइड इफेक्ट) एलोपेथिकभन्दा कम हुने गरेकाले दीर्घरोगीले विभिन्न समस्याबाट छुटकारा पाउनका लागि आयुर्वेदिक उपचार रोज्न थालेका हुन् । प्रदेश सरकारले धनगढीमा प्रादेशिक आयुर्वेद चिकित्सालय सञ्चालन गरेपछि त्यस्ता बिरामीलाई स्वास्थोपचार गराउन झनै सहज भएको छ । ज्येष्ठ नागरिकलगायत गम्भीर रोगको उपचारका लागि चिकित्सालय पुग्ने बढेका छन् । 

आयुर्वेद चिकित्सालयको स्थापनाले औषधोपचारमा धेरै सहज भएको कञ्चनपुरस्थित कृष्णपुर नगरपालिका–४, गुलरियाका इन्द्रबहादुर देउवाले बताउनुभयो । कुनै पनि चोटपटक नलागी खुट्टाको समस्या भएपछि उपचार र थेरापी गराउनका लागि आफू चिकित्सालय धाउँदै आएको उहाँले बताउनुभयो । एलोपेथिक विधिबाट स्वास्थ्योपचारका लागि विभिन्न अस्पताल धाएर थाकेका धेरै जसो बिरामी अन्त्यमा आयुर्वेदिक चिकित्सालय रोज्ने गरेको बताइएको छ । त्यस्ता बिरामीले एलोपेथिक औषधी प्रयोग गर्न छोडेर आयुर्वेदिक औषधी प्रयोग गर्ने गरेको जनाइएको छ ।

एलोपेथिक औषधी सेवनका कारण देखिएका असर हटाउनका लागि समेत कतिपय दीर्घरोगीले आयुर्वेदिक औषधी प्रयोग गर्ने गरेका छन् । आयुर्वेद चिकित्सालयमा सेवा थप गर्नुका साथै उपलब्ध अरू सेवा सुधार गरिएका कारण सेवाग्राहीको सङ्ख्या बढ्दै गएको चिकित्सालयका मेडिकल सुपरिन्टेन्डेन्ट रामकामेश्वर ठाकुरले बताउनुभयो । 

“अहिले हाम्रो चिकित्सालयको सेवा धेरै राम्रो भएको छ,” उहाँले भन्नुभयो, “चिकित्सालयमा केही सेवा थप भएका छन् । भएका सेवालाई अझ राम्रो र प्रभावकारी बनाइएको छ ।” प्रदेश सरकारले यो चिकित्सालय स्थापना गरेको दुई वर्ष पुग्दै छ । चिकित्सालय स्थापनादेखि हालसम्म महिला २८ हजार ३२९ र पुरुष २१ हजार ४७ गरी ४९ हजार ३७६ जना बिरामीले सेवा लिएको जनाइएको छ । जसमध्ये १८ हजार ५५४ जनाले पञ्चकर्म, दुई हजार २६ जनाले योग, १३ हजार सात जनाले ज्येष्ठ नागरिक सेवा र एक हजार ५०१ जना महिलाले स्तनपायी सेवा लिएका चिकित्सालयका माया भट्टले जानकारी दिनुभयो । 

चिकित्सालयले ओपिडी/बहिरङ्ग, प्रयोगशाला, एक्सरे, स्नेहन स्वदेन शिरोधारा, पञ्चकर्म वस्तिकर्म, वमन, विरचेन, नस्य, स्वर्ण प्रासन, होमियोप्याथी, आइपिडी (अन्तरङ्ग), ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्धन, स्तनपायी आमालाई दुग्धवर्धक औषधी वितरणलगायत सेवा प्रदान गर्दै आएको छ । औषधी निःशुल्क रूपमा वितरण गर्ने गरिएको छ ।