• १२ साउन २०८१, शनिबार

महाभारत गाउँपालिकामा दम्पतीको हत्या

blog

केदार तिमल्सिना 

बनेपा, जेठ ८ गते । काभ्रेपलान्चोक जिल्लाको महाभारत गाउँपालिका ४ महादेवटारमा एक दम्पती मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार स्थानीय अन्दाजी ६० बर्षका मानबहादुर बल र उहाँकी ५० बर्षीया श्रीमती केकाइमाया बल मृत अवस्थामा फेला पर्नुभएको हो । 

आज स्थानीयबासीहरुले गर्ने ठाकुर पूजामा सहभागी नभएपछि छिमेकीले किन आएन भनेर फोन गरेको र फोन नउठेपछि पूजामा आएको बोकाको मासुको भाग लिएर उहाँहरुको घर जाँदा बल दम्पती मृत अवस्थामा फेला पर्नुभएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो । 

उहाँले बल दम्पतीको टाउकोमा हम्मर प्रहार गरिएको पाइएको बताउनुभयो । घटनाको प्रकृति र घटनास्थलमा फेला परेको हम्मरले बल दम्पतिको हत्या भएको हुन सक्ने बताउनुभयो । बल दम्पतीको उहाँहरुले सन्चालन गर्दै आएको पसलमा मृत अवस्थामा फेला पर्नुभयो । 

गाउँपालिका अध्यक्ष जिम्बाले श्रीमतीको शव रहेको कोठामा बाहिरबाट र श्रीमान भएको कोठामा भित्रबाट चुकुल लगाइएको र झ्याल खुल्ला रहेको बताउनुभयो । मृतक दम्पतीका तीन छोरा र एक छोरी  काठमाडौं बस्ने गरेकाले गाउँमा उहाँहरु दुई जना मात्र बस्दैआएको गाउँपालिका अध्यक्ष जिम्बाले बताउनुभयो । 

घटनापछि ईलाका प्रहरी कार्यालय देवीटार, प्रहरी चौकी फोक्सिङटारको प्रहरी घटनास्थल पुगेको छ भने जिल्लाबाट प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठको नेतृत्व र ईलाका प्रहरी कार्यालय मङ्गलटारको प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।