• ११ मंसिर २०८१, मङ्गलबार

धनगढीमा हरियाली प्रवर्द्धन कार्यक्रम सुरु

blog

तेस्रो चरणको हरियाली प्रवर्द्धन कार्यक्रमको उद्घाटन गरिँदै । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी
धनगढी, जेठ ८ गते ।
 धनगढी उपमहानगरपालिकाले तेस्रो चरणको हरियाली प्रवर्द्धन कार्यक्रम सुरु गरेको छ । धनगढी नगर क्षेत्रलाई स्वच्छ बनाउने उद्देश्यका साथ उपमहानगरपालिकाले तेस्रो चरणको हरियाली प्रवर्द्धनको कार्यक्रम अगाडि बढाएको हो । यो अभियानअन्तर्गत विभिन्न प्रजातिको साढे पाँच हजार बिरुवा रोप्ने लक्ष्य रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले बताउनुभयो ।

यसअघि, धनगढी उपमहानगरपालिकाले दुई चरणको हरियाली प्रवर्द्धन कार्यक्रममार्फत नगरको छ लेन सडक, हुलाकी राजमार्गको मेडियनमा वृक्षारोपण गरिसकेको छ । यही अभियानका कारण हालैमात्रै धनगढी उपमहानगरपालिकाले प्रकृति संरक्षण पुरस्कारसमेत प्राप्त गरेको छ ।

धनगढी उपमहानगरपालिका–१ स्थित हुलाकी सडकको खण्ड ‘घ’ मा वडा अध्यक्ष सन्तोष मुडभरिले वृक्षारोपण गरेर तेस्रो चरणको हरियाली प्रवर्द्धन कार्यक्रमको उद्घाटन गर्नुभयो ।

तेस्रो चरणअन्तर्गत हुलाकी सडकको दुवैतर्फ वडा नम्बर २ देखि १४ को फूलबारीसम्म, विमानस्थल सडक, चक्रपथमा बिरुवा रोपिने जनाइएको छ । रोपिएका बिरुवा संरक्षणका लागि ट्रि–गार्ड राख्नुका साथै मलजल, गोडमेल गर्ने लगायतका कार्य हुने जनाइएको छ । यसअघि सञ्चालित दुई चरणको अभियानबाट पाँच हजार बढी बिरुवा रोपिएको थियो ।